काठमाडौं। फागुन २१ को निर्वाचनपछि शून्य अवस्थामा पुगेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। बैठकले गत सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तावित नेताहरुको कार्य विभाजन प्रस्ताव स्वीकृत गर्नेछ।
ओली निवास गुन्डुमा साढे ११ बजे बस्ने बैठकमा अध्यक्षको राजीनामा मागेर पार्टीलाई नयाँ ढंगबाट चलाउने नेताहरुले यसअघि बताइसकेका छन्।
अध्यक्ष ओली निकटकै विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायतले एमालेमा नेतृत्व परिवर्तन गरेर पार्टीलाई नयाँ दिशामा लगिनुपर्ने धारणा व्यक्त गरिरहेका बेला आजको बैठकमा यसबारे कुरा उठ्न सक्ने बताइन्छ। सचिवालय बैठकमा संस्थापन पक्षबाटै ओलीको राजीनामा मागिए अध्यक्ष दबाबमा पर्ने निश्चित छ।
यद्यपि ओलीले आफ्नो राजीनामा माग्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रूप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी छ।
गत मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा भएको ११औं महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो।
यस पटकको कार्यविभाजनमा एमालेमा मुख्य मानिएका विभागहरूमध्ये सचिव भानुभक्त ढकाललाई संगठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसंगठन र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ। उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभागका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ।
अध्यक्ष ओलीको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्यलाई मिसन स्थानीय चुनावको जिम्मेवारी दिइएको छ।