काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण हाललाई स्थगित भएको छ।
भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द भएपछि दुई देशको सम्बन्धमा देखिएको चिसोपन हट्ने अपेक्षासहित जेठ १८ गते परराष्ट्रमन्त्री खनाल अन्तरसरकारी अन्तर्राष्ट्रिय समूह ‘बिग क्याट अलायन्स’को सम्मेलनमा भाग लिन नयाँदिल्ली जाने तय भएको थियो।
तर, भारतले इबोला भाइरसको कारण देखाउँदै अहिलेलाई सम्मेलन स्थगित गरेसँगै खनालको दिल्ली भ्रमण रोकिएको हो। सम्मेलन जेठ १९ र २० मा तय भएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने सम्मेलनलाई नेपाल–भारत सम्बन्ध सुधारमा महत्त्वपूर्ण कडीका रूपमा हेरिएको थियो।
बाघ, चितुवा, हिउँचितुवालगायत बिरालो प्रजातिका ठूला जनावरको संरक्षणसम्बन्धी यो सम्मेलन स्थगनबारे वक्तव्य जारी गर्दै भारतको वातावरण मन्त्रालयले भनेको छ, ‘सबै सदस्य राष्ट्रहरूको व्यापक र सक्रिय सहभागिता सुनिश्चित गर्न सम्मेलन सारिएको हो।
सम्मेलन अब कहिले हुने भन्ने निश्चित भइसकेको छैन। सहभागी देश र सरोकारवालासँग परामर्शपछि नयाँ मिति घोषणा गरिने वक्तव्यमा उल्लेख छ।
सम्मेनलकै क्रममा भारतीय विदेशमन्त्री एस जयशंकर र वाणिज्यमन्त्री पियूष गोयलसँग साइडलाइन वार्ता गर्ने परराष्ट्र मन्त्रालयको तयारी थियो। औपचारिक रूपमा तय हुन बाँकी रहे पनि नेपालले ती वार्तामा उठाउने सम्भावित एजेन्डाबारे तयारी गरिरहेको थियो।
बालेन्द्र शाहको सरकार बनेसँगै चीन र भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा हुँदै व्यापार थालेपछि नेपालले आपत्ति जनाएको छ। नेपालले चीन र भारतलाई नोटिस पठाएसँगै नेपाल आउने भनिएका भारतीय विदेशमन्त्रीको भ्रमण स्थगित भएका बेला खनाल दिल्ली जाँदै थिए।