काठमाडौं। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याइने भएको छ। आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जानकारी दिएको हो।
आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ। पाँच वर्षे निर्माण अवधि तय गरिएको उक्त आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (ईपीसी) मोडलमा निर्माण भइरहेको छ।
यो ‘मोडल’अन्तर्गत ‘डिजाइन’, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था गरिएको छ ।
आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङमार्गमार्फत आगामी असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्यअनुसार कामलाई तीव्रता दिइएको जानकारी दिए। उनका अनुसार निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी बहन गर्नेछ।
त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’का रूपमा रहने व्यवस्था गरिएको छ।
आयोजनाको प्रारम्भिक चरणमा कानुनी तथा प्राविधिक जटिलताका कारण निर्माण कार्य प्रभावित भएको थियो। नेपालमा ईपीसी मोडलको नयाँ अभ्यास भएकाले आवश्यक कागजात व्यवस्थापन, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनमा देखिएका समस्याले केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ । हाल ती समस्या समाधानतर्फ उन्मुख रहेको पौडेलले बताए।
सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’गर्ने स्वीकृति प्राप्त भइसकेको छ । सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भीर संरक्षणसम्बन्धी काम गरिने योजना रहेको आयोजनाले जनाएको छ।
आयोजनाको प्रारम्भिक लागत अनुमान करिब १० अर्ब रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ७ अर्बमा सम्झौता गरिएको हो। सिद्धार्थ राजमार्गको उक्त खण्ड पहिरो तथा भूक्षयका दृष्टिले जोखिमयुक्त मानिएकाले सुरक्षित यात्रा सुनिश्चित गर्नु तथा जनधनको क्षति न्यूनीकरण गर्नु सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ।–रासस