काठमाडौं। आजदेखि नेपालको विकास साझेदार युरोपेली युनियन (ईयू)का राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा ईयू प्रतिनिधिमण्डलको दुईदिने नेपाल भ्रमण सुरु भएको छ। प्रतिनिधिमण्डलमा नेपालका लागि ईयूका २२ आवासीय तथा गैरआवासीय राजदूत र नियोग उपप्रमुख सहभागी छन्।
नेपाल भ्रमणमा आएको ईयू प्रतिनिधिमण्डलमा फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जमबर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणराज्य, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्वीडेनका राजदूत र नियोग उपप्रमुख छन्।
उनीहरूले आज परराष्ट्रमन्त्री शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्दै छन्।
‘यो भ्रमण बालेन्द्र शाह सरकारलाई भेट्ने तथा ईयू र नेपालबीचको मजबुत सम्बन्धलाई पुनः पुष्टि गर्ने अवसर हो,’ काठमाडौंस्थित ईयूको नियोगबाट जारी विज्ञप्तिमा भनिएको छ ।
ईयू प्रतिनिधिमण्डलले मंगलबार बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिपषद् कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
ईयूका राजदूतले निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिहरू र युवा नेताहरूलाई पनि भेट्नेछन्। ‘यो मिसनले ईयूको नेपालप्रतिको प्रतिबद्धतामा जोड दिन्छ । हामी नयाँ सरकारलाई बधाई दिन, नेपालको विकास प्राथमिकताका लागि हाम्रो समर्थनलाई पुनः पुष्टि गर्न तथा व्यापार र लगानीदेखि जलवायु कार्य र बहुपक्षीय मुद्दामा सहयोगका नयाँ अवसर खोजी गर्न यहाँ आएका हौँ। हामी अझ समृद्ध, दिगो र समावेशी भविष्य निर्माण गर्न नेपालसँग काम गर्न तयार छौँ,’ नेपालका लागि ईयूकी राजदूत लोरेन्जोले भनिन्।