काठमाडौं। नेपालको औषधी उत्पादन क्षेत्रमा तीन दशक लामो इतिहास बोकेको देउराली जनता फर्मास्युटिकल्सले आक्रामक बजार विस्तारको योजना अघि सारेको छ। उद्योगी हरिभक्त शर्माको कम्पनीले चितवनमा नयाँ उत्पादन प्लान्ट स्थापना गर्न ५ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेसँगै ऋणको साख (रेटिङ) गराएको छ।
इक्रा नेपालको रेटिङ प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा कम्पनीले १ अर्ब ४५ करोड १० लाख रुपैयाँ बराबरको व्यापार (सञ्चालन आम्दानी) गरेको छ। अघिल्लो आर्थिक वर्ष २०२४/२५ मा कम्पनीले कुल २ अर्ब ३५ करोड रुपैयाँको कारोबार गरेको थियो।
०२२/२३ मा १ अर्ब ८६ करोड ०२१/२२ मा १ अर्ब ७० करोड र आव २०२०/२१ मा १ अर्ब ४६ करोड रुपैयाँको व्यापार गरेको थियो।
यद्यपि, अघिल्लो वर्षको तुलनामा चालू आवको ९ महिनामा व्यापारमा करिब ३ प्रतिशतको गिरावट देखिएको छ। कम्पनीको सञ्चालन नाफा पनि १९ प्रतिशतबाट घटेर १६.२ प्रतिशतमा झरेको छ।
इक्रा नेपालले देउराली जनताको कुल ५ अर्ब २९ करोड ३० लाख रुपैयाँ बराबरको बैंक ऋण सीमाका लागि रेटिङ दिएको छ। यसअघि चालू खर्चका व्यवस्थापनका लागि कम्पनीले १ अर्ब ६ करोड रुपैयाँको ऋण सीमा राखेर रेटिङ गराएको थियो। अहिले कम्पनीले नयाँ उद्योग स्थापनाको लागि ऋण सीमा बढाएको छ तर, इक्राले रेटिङ भने घटाएको छ।
हालसम्म कम्पनीले आफ्नो चालू पुँजी कर्जाको ५३ प्रतिशत हिस्सा मात्र उपयोग गरेको छ भने करिब ५७ करोड ७० लाख रुपैयाँ अझै उपयोग गर्न सक्ने सीमा रहेको छ।
यसअघि दीर्घकालीन कर्जाका लागि एलमाइनस रेटिङ पाएकोमा अहिले एल त्रिपल बी प्लस कायम गरिएको छ। त्यस्तै, अल्पकालीन ऋणको ए२ प्लसलाई घटाएर ए२ रेटिङ दिइएको छ। एल त्रिपल बी प्लस रेटिङको अर्थ कम्पनीको ऋण भुक्तानी क्षमतामा मध्यम जोखिम रहेको र वित्तीय दायित्व पूरा गर्ने क्षमता सुरक्षित भए पनि भविष्यको ठूलो ऋण भारले यसलाई केही दबाबमा पार्न सक्ने बुझिन्छ।
कम्पनीले चितवनको मंगलपुरमा करिब ५ अर्ब रुपैयाँको लागतमा नयाँ औषधी कारखाना खोल्ने योजना बनाएकाले ऋणको भार बढ्न गई रेटिङमा केही गिरावट आएको हो।
यो परियोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा निर्माण हुनेछ। हालसम्म कम्पनीमा ऋणको भार निकै कम (नेटवर्थको ०.४ गुणा मात्र) भए पनि चितवनको आयोजनाले ऋणको दायित्व ह्वात्तै बढाउने देखिएको छ।
देउराली जनताको वित्तीय अवस्था अझै पनि मजबुत देखिन्छ। कम्पनीको ब्याज तिर्न सक्ने क्षमता बुझाउने इन्ट्रेस्ट कभरेज रेसियो ८.७ गुणा छ, जसको अर्थ कम्पनीले आफ्नो नाफाबाट बैंकको ब्याज सजिलै तिर्न सक्छ। त्यस्तै, ऋण सेवा कभरेज अनुपात ४.६ गुणा हुनुले व्यापारबाट हुने आम्दानीले ऋणको साँवा–ब्याज तिर्न पर्याप्त रहेको संकेत दिन्छ।
हालसम्म कम्पनीले आफ्नो चालु पुँजी कर्जाको ५३ प्रतिशत हिस्सा मात्र उपयोग गरेको छ भने करिब ५७ करोड ७० लाख रुपैयाँ अझै उपयोग गर्न सक्ने सीमा बाँकी छ।
सन् १९९१ मा स्थापित यस कम्पनीमा मुख्य लगानी र नेतृत्व हरिभक्त शर्माको रहेको छ। उनी कम्पनीका कार्यकारी निर्देशक र अध्यक्ष हुन्। शर्माको कम्पनीमा करिब ७१ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी सेयर उनका परिवारका सदस्य र निकटका व्यक्तिको रहेको छ।
कम्पनीसँग २५० भन्दा बढी थरीका औषधी उत्पादन क्षमता र २०० भन्दा बढी वितरकको सञ्जाल छ। मुटु, मधुमेह र स्त्री रोग जस्ता लाइफस्टाइल रोगका औषधिको बढ्दो माग कम्पनीका लागि अवसर रहेको रिपोर्टमा उल्लेख छ।
यद्यपि, भारत र अन्य देशबाट आउने सस्तो औषधिसँगको तीव्र प्रतिस्पर्धा, कच्चा पदार्थमा शतप्रतिशत आयातमा निर्भर रहनुपर्ने बाध्यता र नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा औषधी क्षेत्रले पाउने केही अन्तर्राष्ट्रिय सुविधा गुम्न सक्ने जोखिम कम्पनीका मुख्य चुनौती हुन्।
चुनौतीका बाबजुद आफ्नै आन्तरिक पुँजी र अनुभवी प्रवर्द्धकका कारण देउराली जनताले बजारमा आफ्नो प्रभुत्व कायम राखेको रिपोर्टमा उल्लेख छ।