काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा करिब ३० अर्ब रुपैयाँ बराबरका चार पाङ्ग्रे र ३६ अर्ब रुपैयाँ बराबरका दुई पाङ्ग्रे सवारीसाधन आयात भएका छन्। भन्सार विभागको तथ्याङ्कअनुसार एक वर्षको अवधिमा यति धेरै रकम बराबरका सवारीसाधन नेपाल भित्रिएका हुन्।
तथ्याङ्कले यस वर्षको सवारी बजारमा उल्लेखनीय परिवर्तन देखाएको छ। पछिल्ला केही वर्ष लगातार तीव्र रूपमा विस्तार भइरहेको चार पाङ्ग्रे विद्युतीय सवारी (ईभी)को आयातमा गिरावट आउँदा पेट्रोल र डिजेलबाट चल्ने इन्धनयुक्त सवारीसाधनको आयात बढेको देखिन्छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सवारीसाधनको आयात १०.८० प्रतिशतले घटेको हो। आर्थिक वर्ष २०८२/८३ मा पेट्रोल/डिजेल र विद्युतीय गरी जम्मा १५ हजार ८०६ युनिट कार, जीप र भ्यान नेपाल भित्रिएका छन्। जबकि, अघिल्लो आर्थिक वर्ष १७ हजार ७२० युनिट गाडी आयात भएको थियो। यसरी अघिल्लो वर्षको तुलनामा गत वर्ष १ हजार ९१४ युनिट कम सवारीसाधन भित्रिएको हो।
गत आर्थिक वर्ष नेपालमा ३० अर्ब २४ करोड रुपैयाँ बराबरको १५ हजार ८०६ युनिट कार आयात भएको हो, जसबाट सरकारले २६ अर्ब ६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्ष भने कुल ३६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कार आयात भएको थियो।
ईभी आयात घट्यो
गत आर्थिक वर्षमा विद्युतीय कार, जीप र भ्यानको आयातमा ठूलो गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ईभी आयात २०.११ प्रतिशतले घटेको हो।
गत वर्ष २५ अर्ब ५६ करोड रुपैयाँ बराबरको कुल १० हजार ८४७ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ हजार ७३१ युनिट कम हो। अघिल्लो वर्ष १३ हजार ५७८ युनिट ईभी आयात भएको थियो। गत वर्ष ईभी आयातबाट सरकारले १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटसम्मका ईभी आयात भएका छन्- एक वर्षको अवधिमा ६ हजार ३५७ युनिट। त्यसपछि सबैभन्दा धेरै ५० किलोवाटसम्मका ईभी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। गत आर्थिक वर्ष साउनदेखि असारसम्मको अवधिमा ५० किलोवाटसम्मका ३ हजार ६८० युनिट ईभी भित्रिएका छन्।
त्यसैगरी १०१ देखि २०० किलोवाटसम्मका ७९८ युनिट र २०१ किलोवाटभन्दा माथिका १० युनिट ईभी भित्रिएका छन् भने ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार पनि आयात भएका छन्। हाल नेपालमा सबैभन्दा धेरै बिक्री हुने ईभी नै ५१ देखि १०० किलोवाटसम्मका हुन्।
सबैभन्दा धेरै आयात चीनबाट
नेपालमा भित्रिने सवारीसाधनमा सबैभन्दा धेरै आयात चीनबाट हुने गरेको छ। गत वर्ष चीनबाट मात्रै १८ अर्ब ११ करोड रुपैयाँ बराबरको ७ हजार ६४८ युनिट ईभी कार आयात भएको छ। चीनबाट नेपाली बजारमा प्यासेन्जर सेग्मेन्टका दुई दर्जनभन्दा बढी ब्रान्डका ईभी उपलब्ध छन्। जसमा बीवाईडी, एमजी, ओमाडा एण्ड जेक्को, डिपल, एक्सपेङ, जिली, डङफेङ नामी, लिपमोटर, बीएडब्लु ब्रम्बी, केइ, फोरथिङ, जीडब्लुएम ओरा, जिकर र आयोन लगायत पर्छन्।
दोस्रो सबैभन्दा धेरै आयात भारतबाट भएको छ। भारतबाट ४ अर्ब ८० करोड रुपैयाँ बराबरको २ हजार ३३९ युनिट विद्युतीय कार आयात भएको छ। भारतबाट नेपालमा टाटा, हुन्डाई क्रेटा, महिन्द्रा र सुजुकी लगायतका ब्रान्ड आउने गरेका छन्।
तेस्रो सबैभन्दा धेरै आयात थाइल्यान्डबाट भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। एक वर्षको अवधिमा थाइल्यान्डबाट २ अर्ब ३६ करोड रुपैयाँ बराबरको ८२४ युनिट कार आयात भएको छ।
यी तीन देशबाहेक अन्य देशबाट भने न्यून सङ्ख्यामा मात्र ईभी आयात भएको छ। गत वर्ष जर्मनीबाट १४ युनिट, अमेरिकाबाट १२ युनिट, दक्षिण कोरियाबाट ८ युनिट र बेलायत तथा अस्ट्रियाबाट एक-एक युनिट ईभी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।
कमर्सियल ईभी आयात
एक वर्षको अवधिमा कमर्सियल सेग्मेन्टका ३ हजार २९१ युनिट ईभी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। १० अर्ब १० करोड रुपैयाँ बराबरका यी कमर्सियल ईभीको आयातबाट सरकारले ३ अर्ब ५९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
यस अवधिमा नेपाल भित्रिएका कमर्सियल सेग्मेन्टका ईभीमध्ये सबैभन्दा धेरै ११ देखि १४ सिटरसम्म क्षमताका ईभी रहेका छन्। हाल नेपाली बजारमा ईभी माइक्रो भ्यानको आयात र प्रयोग तीव्र रूपमा बढ्दै गएको छ।
पेट्रोल कार आयात बढ्यो
गत वर्ष ईभी कार आयात घट्दा पेट्रोल कारको आयातमा भने वृद्धि देखिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष पेट्रोल कारको आयात १९.७२ प्रतिशतले बढेको हो। गत वर्ष ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको ४ हजार ९५९ युनिट पेट्रोल कार आयात भएको छ। जसबाट सरकारले १० अर्ब ५८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
अघिल्लो आर्थिक वर्ष कुल ४ हजार १४२ युनिट पेट्रोल कार आयात भएको थियो। यसरी अघिल्लो वर्षको तुलनामा गत वर्ष ८१७ युनिट धेरै पेट्रोल कार भित्रिएको हो।
पेट्रोल कार आयातमा हुन्डाईको वर्चस्व रहेको छ। गत वर्ष आयात भएका कुल ४ हजार ९५९ युनिट पेट्रोल कारमध्ये २ हजार २८० युनिट अनएसेम्बल कार रहेको विभागको तथ्याङ्कमा उल्लेख छ। नेपालमा हाल हुन्डाईले मात्रै चार पाङ्ग्रे सवारी एसेम्बल गर्ने भएकाले यी सबै अनएसेम्बल कार उसैका हुन्। हुन्डाईले नेपालमा क्रेटा र भेन्यू उत्पादन गर्दै आएको छ।
दुई पाङ्ग्रेको आयात ३० प्रतिशतले बढ्यो
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष दुईपाङ्ग्रे सवारीको आयात ३० प्रतिशतले बढेको छ। विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा कुल २ लाख ७६ हजार ७६९ युनिट मोटरसाइकल र स्कुटर (ईभी र इन्धनयुक्त दुवै गरी) आयात भएका छन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ लाख १३ हजार २९५ युनिट मोटरसाइकल र स्कुटर आयात भएको थियो। गत वर्ष आयात भएका दुईपाङ्ग्रे सवारीमध्ये २ लाख २७ हजार ८३४ युनिट अर्थात् ८२.१६ प्रतिशत अनएसेम्बल अवस्थामा भित्रिएका छन्।
हाल नेपालमा एक दर्जनभन्दा बढी ब्रान्डका दुईपाङ्ग्रे सवारी एसेम्बल हुन्छन्- जसमा बजाज, टीभीएस, यामाहा, हिरो, रोयल इनफिल्ड, होन्डा र सीएफमोटो लगायत पर्छन्।
गत वर्ष ४९ हजार ४५७ युनिट तयारी अवस्थाका मोटरसाइकल र स्कुटर आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ। गत वर्ष आयात भएका दुईपाङ्ग्रे सवारीमध्ये २ लाख ५० हजार ६५४ युनिट पेट्रोलचालित र २६ हजार ११५ युनिट विद्युतीय रहेका छन्।
गत वर्ष कुल ३६ अर्ब १ करोड रुपैयाँ बराबरको मोटरसाइकल र स्कुटर आयात भएको हो, जसबाट सरकारले ३२ अर्ब ९७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।