भक्तपुर। "हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन" भन्ने नाराका साथ शुक्रबारदेखि "दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला–२०८३" हुने भएको छ।
भक्तपुर उद्योग वाणिज्य संघको आयोजना र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा जेठ १५ र १६ गते "दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला–२०८३" हुन गइरहेको हो।
भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवर्द्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवर्द्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्य रहेको छ।
सांस्कृतिक एवं पर्यटकीय नगरी भक्तपुरको भक्तपुर औद्योगिक क्षेत्र परिसरमा दुई दिनसम्म आयोजना हुने मेलामा करिब ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।
मेलामा मौलिक हस्तकलाका उत्पादनहरू, कृषि उत्पादनहरू, तयारी पोशाक, बालबालिकाका खेलौना, गरगहना, सौन्दर्य तथा श्रृंगारका सामग्री, मूर्ति तथा उपहारका सामग्री, रैथाने तथा अर्ग्यानिक खाद्य सामग्री, इलेक्ट्रोनिक्स लगायत अन्य विविध सामग्रीका ६० भन्दा बढी स्टल रहने छन्।
मेलामा स्थानीय खानाका स्टलहरु पनि रहने छन् भने विशेष सांगीतिक कार्यक्रम समेत हुनेछ। बालबालिकालाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था हुने आयोजक पक्षले जनाएको छ।
सार्वजनिक बिदा शुक्रबार र शनिबार हुने मेलाका लक्षित आगन्तुकहरूमा विशेषगरी आन्तरिक तथा बाह्य पर्यटकहरु, दैनिक उपभोग्य सामग्रीका उपभोक्ताहरु, हस्तकला व्यवसायीहरु, थोक तथा खुद्रा व्यवसायीहरु, विभिन्न संघ संस्थाहरु, सरकारी निकायहरु, स्थानीय खानाका पारखीहरु, बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरु, विद्यार्थीहरु लगायत रहेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ मेलाको सहयोगी निकाय रहेको छ तथा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्राइभेट लिमिटेडले मेला व्यवस्थापन गर्ने जिम्मेवारी लिएको छ।