काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्रालयले सरकारले स्थानीय तहबाट सञ्चालन भइरहेका रोजगार सेवा केन्द्रलाई रोजगार सीप तथा उद्यमशीलता केन्द्रका रूपान्तरण गर्ने जनाएको छ। रोजगार सिर्जना सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाउनका लागि सरकारले यस्तो कदम चालेको हो।
युवा, श्रम तथा रोजगार मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मन्त्रिपरिषद्ले २०८१ चैत १३ गते स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी कार्ययोजना अन्तर्गत यो निर्णय गरिएको हो। यसअन्तर्गत अहिले सञ्चालनमा रहेका रोजगार सेवा केन्द्रलाई ६० दिने अभियानमार्फत रोजगार, सीप तथा उद्यमशीलता केन्द्रका रूपमा रूपान्तरण गरिने विज्ञप्तिमा उल्लेख छ।
युवा श्रम तथा रोजगार मन्त्रीस्तरको गत चैत १९ गतेको निर्णयबाट मन्त्रालयका सचिवको संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र भूमि, व्यवस्था, गरिबी, निवारण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मातहतका निकायका प्रतिनिधि संलग्न रहेको समितिले प्रतिवेदनमा रोजगार सिर्जना सीप विकास र उद्यमशीलता प्रवर्द्धनका लागि सम्बन्धी मन्त्रालयले गर्नुपर्ने नीतिगत संरचनागत कार्यक्रमगत व्यवस्थापकीय र सूचना प्रविधि प्रणाली सम्बन्धी कार्यहरू सिफारिस गरेको थियो। सोही अनुरूप रोजगार सीप तथा उद्यमशीलता सम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधिलाई मन्त्रीस्तरीय निर्णय भएपश्चात् कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता भई कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पठाइएको युवा श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।
त्यस्तै सो व्यवस्था पछि स्थानीय तहमा रहेका केन्द्रमार्फत श्रम बजार विश्लेषण, स्थानीय रोजगार योजना निर्माण, सीप तथा मागमा आधारित तालिम, रोजगार परामर्श, उद्यमशीलता प्रवर्द्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनएकीकरण सम्बन्धी एकद्धार प्रणाली मार्फत सेवा प्रदान गर्ने मन्त्रालयको भनाई छ।
