काठमाडौं। अध्यागमन विभागले भिसा उल्लंघनदेखि विभिन्न अपराधमा संलग्न भएका ६ सय ७५ जना विदेशीहरूलाई निष्कासित गरेको छ। ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी’ भएको एक कार्यक्रममा बोल्दै अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पछिल्लो १६ महिनाको अवधिमा मात्र ६ सय ७५ जना विदेशी नागरिकहरू नेपालबाट निष्कासनमा परेको जानकारी दिए।
सरकारी तथ्यांक अनुसार सन् २०२५ मा ५ सय २३ जनालाई निष्कासन गरिएको छ। जसमा ४ सय ५९ जना भिसा अवधि नाघेका र ६४ जना अन्य विभिन्न कसुरका रहेका छन् भने सन २०२६ को हालसम्म कुल १ सय ५२ जनालाई निष्कासन गरी कुल ६ सय ७५ जनालाई निष्कासन गरिएको गृहमन्त्रालय अन्तर्गतको अध्यागमन विभागले उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय दायित्व र प्रतिबद्धताहरूप्रति पूर्ण प्रतिबद्धता प्रकट गर्दै विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा सूचनामा सहजीकरण सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली अर्थात् एफएनमिस प्रणाली लागु गरिएको छ। सो प्रणालीको कार्यान्वयन मार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको बसाइँ तथा उनीहरूको गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने र आपत्कालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास लिइएको छ।
यसका साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायहरुबीच सूचना आदानप्रदानको प्रक्रियालाई सरल र प्रभावकारी बनाई पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने विभागले जनाएको छ। नेपालबाट निष्कासन गर्नुपरेका थुप्रै कारण मध्ये भिसाको म्याद सकिएपछि पनि अवैध रूपमा नेपालमा बसिरहेका, पर्यटकीय भिषामा नेपाल प्रवेश गरी लुकीछिपी व्यापार वा काम गर्ने, लागुऔषध ओसारपसार तथा कारोबारमा संघलग्न तथा नक्कली कागजात बनाएर नेपाललाई ट्रान्जिट बनाउन खोजेको भन्दै निष्कासन गरिएको विभागका एक अधिकारीले बताए।
एफएनमिस प्रणालीमा १ लाख जना विदेशीको विवरण अभिलेख
नेपालमा विदेशी नागरिकहरूको आगमन पश्चात हुने भिषा थप एक्टेन्सन उनीहरूको देशभित्रको दैनिक गतिविधि भ्रमण मार्ग र नेपालबाट बाहिरिँदाको प्रस्थान अभिलेखलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यले सुरु गरिएको प्रणालीमा अहिलेसम्म १ लाख ३७ हजार १ सय ६ जना विदेशी नागरिकहरूको विवरण र गतिविधि अभिलेख भएका छन् भने देशभरका १ हजार ५ सय ६० सेवा प्रदायकहरू आबद्ध भइसकेका छन्। जसमा ट्रेकिङ एजेन्सीहरु १ हजार ४ सय १४, होटलहरु १ सय १, एयरलाइन सेवाहरु ५, टेलिकम अपरेटरहरु ३ र ट्राभल एजेन्सीहरु ११ वटा टाभल ११ र एयरलाईन्स २ सय ११ लगायत थुप्रै निकाय आबद्ध भइसकेका छन्।
कसरी काम गर्छ यस प्रणालीले
अध्यागमन विभागका अनुसार सो प्रणाली मुख्यतया सेवा प्रदायक र विदेशी पर्यटकको प्रत्यक्ष सहभागितामा आधारित रहको छ। सवैप्रथम विदेशी पर्यटक नेपालको भूमिमा प्रवेश बिन्दु वा विमानस्थलमा ओर्लिएपछि सो प्रक्रिया सुरु हुन्छ। पर्यटक स्वयंले विभागको मोबाइल एप डाउनलोड गरेर आफ्नो विवरण राख्न सक्नेछन्। पर्यटकहरू नेपालभित्रका होटल, होमस्टे, ट्रेकिङ एजेन्सी, एयरलाइन्स वा ट्राभल एजेन्सी जस्ता सेवा प्रदायकहरूको सम्पर्कमा पुग्नासाथ उनीहरूको चेक–इन विवरण प्रणालीमा जोडिने काम गर्छ भने अर्कोतर्फ पर्यटक होटल वा सेवा लिने स्थानबाट बाहिरिँदा र देशबाट प्रस्थान गर्दाको विवरण पनि प्रणालीमा अद्यावधिक हुने गरेको छ भने यसबाट ट्रयाक इन र ट्रयाक वाउटबाट ट्रयाक गर्न सकिने विभागको भनाई छ।