काठमाडौं। नेपाल र रोमानियाबीच व्यापार, लगानी तथा श्रम सहकार्य विस्तार गर्ने उद्देश्यसहित काठमाडौंमा आयोजित नेपाल–रोमानिया व्यापार मञ्चमा निजी क्षेत्रका प्रतिनिधिले द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन। कार्यक्रममा तयारी पोशाक, सूचना प्रविधि, पर्यटन, पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा सहकार्य बढाउँदै रोमानियालाई नेपाली उत्पादनका लागि युरोपेली बजारको प्रवेशद्वारका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइएको थियो।
नेपाल तयारी पोशाक उद्योग संघले काठमाडौंमा आयोजना गरेको नेपाल–रोमानिया व्यापार मञ्चको उद्धघाटन तथा अन्तरक्रिया कार्यक्रममा नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन, श्रम सहकार्य तथा निजी क्षेत्रबीचको सम्बन्ध विस्तारका विषयमा व्यापक छलफल गरिएको हो।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल तयारी पोशाक उद्योग संघ र चेम्बर अफ कमर्श एण्ड इन्ड्रस्ट्री अफ रोमानीया बीच सन २०२३ अगस्ट २७ मा सम्पन्न सहकार्य प्रोटोकलले दुई देशबीच व्यापार, लगानी, पूर्वाधार विकास, सीप विकास तालिम, सूचना प्रविधि, ई–कमर्स तथा बीटुबी र बीटुसी व्यापारिक सम्बन्ध विस्तारका नयाँ सम्भावना सिर्जना गरेको बताए।
उनका अनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालबाट रोमानियातर्फ करिब १.१७ मिलियन अमेरिकी डलर बराबरको निर्यात भएको छ भने रोमानियाबाट नेपालमा करिब ६९० हजार अमेरिकी डलर बराबरको आयात भएको छ। विशेषगरी तयारी पोशाक नेपालबाट रोमानियामा निर्यात हुने प्रमुख वस्तुका रूपमा रहेको उनले जानकारी दिए।
कार्यक्रमका राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता एवंम सांसद गणेश पराजुलीले नेपाल र रोमानियाबीच व्यापार तथा लगानी सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालले उच्च गुणस्तरका तयारी पोशाक, हस्तकला, जडीबुटीजन्य वस्तु, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा उपलब्ध गराउन सक्ने बताए।
उनले रोमानियालाई युरोपेली बजारको प्रवेशद्वारका रूपमा उल्लेख गर्दै पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रमा रोमानियाली लगानी भित्र्याउन नेपाल तयार रहेको धारणा राखे। सुरक्षित र व्यवस्थित श्रम आप्रवासन विस्तारले दुवै देशलाई लाभ पुग्ने उनको भनाइ थियो।

भारत, नेपाल तथा बंगलादेशका लागि रोमानियाका राजदूत सेना लतिफले नेपाल–रोमानिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा रोमानियामा कार्यरत नेपाली समुदायको योगदानबारे प्रकाश पारिन।त्यसैगरी आर्थिक कन्सुलर इओन्टु भिजिरुले रोमानियाको आर्थिक अवस्था तथा विकासका सम्भावनाबारे प्रस्तुति दिएका थिए।
नेपाल रोमानिया चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीकी अध्यक्ष वविता पाण्डेले दुई देशका व्यवसायिक समुदायबीच दीर्घकालीन सहकार्य, लगानी संवाद तथा पारस्परिक हितका अवसर विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेल्ने बताइन।