काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा ४ हजार १०५ मेगावाट कुल जडित विद्युत क्षमता विस्तार भएको छ। चालू आवको ८ महिनमा देशभर उक्त मेगावाटले विद्युत क्षमता विस्तार भएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार जलविद्युत उत्पादन, प्रसारण तथा वितरण प्रणाली, ग्रामीण विद्युतीकरण लगायतका क्षेत्रमा उल्लेखनीय उपलब्ध हासिल भएको छ।
आन्तरिक विद्युत खपत वृद्धि गर्दै औद्योगिक उत्पादन, यातायात तथा घरेलु क्षेत्रमा स्वच्छ ऊर्जाको उपभोग विस्तार गर्ने नीति कार्यान्वयनमा रहेको छ। चालू आवमा कुल जडित विद्युत क्षमता विस्तारमध्ये जलविद्युत जडित क्षमता ३ हजार ७ सय ९८ मेगावाट, सौर्य ऊर्जा १४२ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा उत्पादित विद्युत १०६.२४ मेगावाट, तापीय (थर्मल प्लान्ट) ऊर्जा ५३.४ मेगावाट र चिनी मिलबाट सह-उत्पादन प्रविधिमार्फत उत्पादित विद्युत ६.० मेगावाट उत्पादन भएको छ।
नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित विद्युत परियोजनाबाट ६६१.५७ मेगावाट, विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत् ७४८.४ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित परियोजनबाट २ हजार ५८७ मेगावाट गरी चालू आवको फागुन मसान्तसम्ममा ३ हजार ९९७ मेगावाट राष्ट्रिय ग्रीडमा जडान भएको छ।
वैकल्पिक ऊर्जासहित ९९.१ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ। सामुदायिक उपभोक्तासमेत विद्युत उपयोग गर्ने ग्राहकको संख्या चालू आवको असार मसान्तसम्म ५८ लाख ८ हजार रहेकोमा चालू आवको फागुन मसान्तसम्म ५८ लाख ५९ हजार पुगेको छ।
राष्ट्रिय प्रसारण लाइन (६६ के.भी र सो भन्दा माथिको लम्बाइ) चालू आवको असार मसान्तसम्म ७ हजार १६१ सर्किट किलोमिटर रहेकोमा चालू आवको फागुन मासान्तसम्म ७ हजार २८० सर्किट किलोमिटर पुगेको छ। चालू आवको फागुन मासान्तसम्म प्रसारण लाइन (३३ के.भी) ८ हजार २२५ सर्किट किलोमिटर पुगेको छ। चालू आवको असार मसान्तसम्म वितरण लाइन (४००/२३० भोल्ट) १ लाख ५६ हजार ७९० सर्किट किलोमिटर रहेकोमा चालू आवको फागुन मासान्तसम्म १ लाख ७३ हजार ४३ सर्किट किलोमिटर पुगेको छ।
विद्युत उत्पादनमा वृद्धि भए सँगैविद्युत आयातमाथिको निर्भरता कम हुँदै गएको छ। चालू आवको फागुन मसान्तसम्म भारततर्फ २ हजार ९१८ गिगावाट घण्टा बराबरको विद्युत निर्यात भएको छ, भने ५९० गिगावाट घण्टा विद्युत आयात भएको छ।
गत आर्थिक वर्षमा भारततर्फ २ हजार ३३२ गिगावाट घण्टा विद्युत निर्यात र १ हजार ७१२ गिगावाट घण्टा विद्युत आयात भएको थियो। विभिन्न आयोजनाको निर्माणबाट चालू आवको अन्त्यसम्म ६६६ मेगावाट विद्युत थप उत्पादन भई नेपालको विद्युत क्षमता ४ हजार ६२६ मेगावाट पुग्ने अनुमान छ।
चालू आवको फागुन मासान्तसम्म प्रसारणतर्फ ३ र वितरणतर्फ २ गरी ५ सव-स्टेशनको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएका छन्। त्यसैगरी १३२ के.भीका ५ प्रसारण लाइन (१६३ सर्किट किलोमिटर) तथा ४०० के.भी.का १ प्रसारण लाइन (९.५२ सर्किट किलोमिटर) विस्तार भएका छन्। ग्रिड सवस्टेशनको क्षमता १३ हजार ७५४ मेगाभोल्ट एम्पियरबाट २१ हजार ६६० मेगाभोल्ट एम्पियर पुगेको छ।
चालू आवको फागुन मसान्तसम्म निजी क्षेत्रका जलविद्युत कम्पनीलाई थप २ हजार ४ सय मेगावाट जडित क्षमता बराबरको १५८ जलविद्युत आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमति पत्र दिइएको छ। यससँगै चालू आवको फागुन मासन्तसम्म २२५ आयोजनाको १० हजार ६२९ मेगावाट जडित क्षमता बराबरको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी भएको छ।
चालू आवको फागुन मसान्तसम्म विद्युत खपत १० हजार १९ मेगावाट घण्टा (चुहावटबाहेक) बराबर पुगेको छ। गत आवमा यस्तो खपत १३ हजार ६५३ मेगावाट घण्टा बराबर रहेको थियो। चालू आवको फागुन मसान्तसम्म कुल विद्युत खपतको गाह्रस्थ, औद्येगिक, व्यापारिक र अन्य क्षेत्रमा विद्युत खपत क्रमशः ३०.० प्रतिशत, २५.० प्रतिशत, ६.० प्रतिशत र १०.० प्रतिशत रहेको छ। यस अवद्यिमा २९.० प्रतिशत विद्यु्त निर्यात भएको छ।
नवीकरणीय ऊर्जा
२०८१ फागुन मसान्तसम्म नवीकरणीय ऊर्जा स्रोतबाट विद्युतको पहुँच पुगेको जनसंख्याक करिब ८.५ प्रतिशत रहेकोमा २०८२ फागुन मसान्तसम्म यस्तो जनसंख्या ८.६ प्रतिशत पुगेको छ। त्यसैगरी ३६ लाख घरधुरीले विभिन्न प्रयोजनमा नवीकरणीय ऊर्जाको प्रयोग गरेका छन्। गत आर्थिक वर्ष २०८१/८२ मा वैकल्पिक ऊर्जा अन्तर्गतका लघु तथा साना जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४०.७१ मेगावाट रहेकोमा चालू आवको फागुन मसान्तसम्म थप १४७ किलोवाट उत्पादन भएको छ।
त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा सौर्य ऊर्जा प्रविधिबाट ६२.७ मेगावाट विद्युत उत्पादन भई विद्युतीकरण भएकोमा चालू आवको फागुन मसान्तसम्म ११८ किलोवाट विद्युत उत्पादन भएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा घरायसी बायोग्याँसतर्फ ४ हजार ३८६ प्लान्ट जडान भएकोमा चालू आवको फागुन मसान्तसम्म ४ हजार ६२७ प्लान्ट जडान भएको छ।
त्यसैगरी गत आर्थिक वर्ष २०८१/८२ मा सुधारिएको चुलो÷विद्युतीय चुलो जडानतर्फ ४७ हजार ४२० चुलो जडान भएकोमा चालू आवको फागुन मसान्तसम्म यस्तो संख्या ३८ हजार ६ सय रहेको छ। ग्त आर्थिक वर्ष २०८०/८१ म विद्युतीय चुलोतर्फ २६ हजार २५६ विद्युतीय चुलो जडान भएको थियो।
ऊर्जा खपतको स्रोत
विद्युतको उत्पादन बढेसँगै कुल ऊर्जा खपतमा परम्परागत स्रोत (विशेषगरी दाउरा)को हिस्सा क्रमशः घट्दै गएको छ। चालू आवको फागुन मसान्तसम्म परम्परागत, व्यापारिक र नवीकरणीय स्रोतबाट ८ हजार २४ टीओई बराबर ऊर्जा खपत भएको छ।
गत आर्थिक वर्ष यस्तो खपत १२ हजार १९ टीओई बराबर ऊर्जा खपत भएको थियो। चालू आवको फागुन मसान्तसम्म कुल खपत ऊर्जामध्ये दाउरा ४८.९ प्रतिशत, पेट्रोलियम पदार्थ २१.८ प्रतिशत विद्युत १२.१ प्रतिशत र अन्य १७.२ प्रतिशत रहेको छ।