काठमाडौं। नेपालको चिनी उद्योगमा स्थापित नाम इस्टर्न सुगर मिल्सले आफ्नो व्यापारिक आकारमा वृद्धि गरे पनि चिनीको न्यून उत्पादन दर (रिकभरी रेट)का कारण वित्तीय दबाब झेल्नु परेको छ।
इक्रा नेपालले सार्वजनिक गरेको पछिल्ले प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०२४/२५ मा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँ बराबरको कुल व्यापार (सञ्चालन आम्दानी) गरेको छ। अघिल्लो वर्ष १ अर्ब ४० करोड ५० लाखको कारोबार गरेको यो उद्योगले आफ्नो व्यापारलाई क्रमिक रूपमा विस्तार गर्दै लगेको हो।
कम्पनीले आफ्नो व्यावसायिक सञ्चालन र परियोजना विस्तारका लागि बैंकहरूबाट उपयोग गर्ने कुल १ अर्ब ५३ करोड ८० लाख रुपैयाँ बराबरको ऋण सुविधाका लागि इक्रा नेपालले पुरानै रेटिङलाई पुनः पुष्टि गरेको छ। कम्पनीको ९३ करोड ८० लाखको दीर्घकालीन ऋणका लागि एलबि प्लस र ६० करोडको अल्पकालीन ऋणका लागि एफोर रेटिङ कायम गरिएको छ।
यी रेटिङले कम्पनीको ऋण भुक्तानी क्षमतामा मध्यम स्तरको जोखिम रहेको र वित्तीय दायित्वहरू पूरा गर्ने सन्दर्भमा बाह्य र आन्तरिक चुनौतीहरू विद्यमान रहेको संकेत गर्छ।
विशाल र गोल्छा समूहको लगानी
सन् १९९४ मा स्थापना भई १९९६ देखि व्यावसायिक उत्पादन सुरु गरेको यो कम्पनीमा नेपालका दुई प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुप र गोल्छा अर्गनाइजेसनसँग आबद्ध व्यक्तिहरूको मुख्य लगानी रहेको छ।
कम्पनीको सेयर संरचनामा फ्ल्याटउडको २७ प्रतिशत हिस्सा छ। बाँकी सेयर अनुज अग्रवालको ९ प्रतिशत, विशाल अग्रवालको ९ प्रतिशत, निकुञ्ज अग्रवालको ९ प्रतिशत, हितेश गोल्छाको ९ प्रतिशत, दिनेश गोल्छाको ६ प्रतिशत, अशोक कुमार अग्रवालको ५ प्रतिशत र युनाइटेढ डिस्टु्रबिसनको ७ प्रतिशत सेयर स्वामित्व छ। तीन दशक लामो व्यावसायिक अनुभव र बलियो प्रवद्र्धक प्रोफाइल नै कम्पनीको साख जोगाउने मुख्य आधार बनेको छ।
नाफा र उत्पादनमा चुनौती
व्यापार बढे पनि उद्योगको सञ्चालन नाफामा ठूलो गिरावट आएको छ। उखुको गुणस्तरमा आएको ह्रासका कारण चिनीको रिकभरी रेट ८.८ प्रतिशतबाट घटेर ८.३ प्रतिशतमा सीमित भएपछि सञ्चालन नाफा १५.३ प्रतिशतबाट झरेर ९.३ प्रतिशतमा खुम्चिएको छ।
यसका साथै सरकारले उखुको न्यूनतम समर्थन मूल्य बढाएर प्रति क्विन्टल ५८५ रुपैयाँ (अनुदानबाहेक) पुर्याउनु र आगामी वर्षका लागि ६२० रुपैयाँ तोक्नुले उद्योगको लागत अझ बढ्ने देखिएको छ।
ऋणको भार र तरलता अवस्था
इस्टर्न सुगर मिल्सको ऋणको भार आम्दानीको तुलनामा निकै उच्च देखिएको छ। कम्पनीको कुल ऋण र सञ्चालन नाफाको अनुपात ५.३ गुणाबाट बढेर ९.६ गुणा पुगेको छ, जसले ऋणको दायित्व उच्च रहेको पुष्टि गर्छ। ऋणको साँवा र ब्याज तिर्ने क्षमता बुझाउने ‘डीएससीआर’ (म्क्ऋच्) अनुपात पनि १.० गुणामा झरेको छ, जसको अर्थ कम्पनीको आम्दानीले बैंकको किस्ता तिर्न मुस्किलले मात्र पुग्छ।
तरलता व्यवस्थापनमा समस्या देखिएका कारण कम्पनीले बैंकबाट पाउने ऋण सीमाको करिब ११९ प्रतिशतसम्म उपयोग गरिरहेको छ।
अवसर र जोखिमका पाटोहरू
सुनसरीको अमहिबेल्हामा अवस्थित यो उद्योगले दैनिक २ हजार ५०० मेट्रिक टन उखु क्रसिङ गर्ने क्षमता राख्दछ। पछिल्ला पाँच वर्षमा उखु क्रसिङको परिमाण १ लाख १८ हजार मेट्रिक टनबाट बढेर १ लाख ९१ हजार पुग्नु कम्पनीका लागि सकारात्मक पक्ष हो। भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्धले आन्तरिक बजारमा मूल्य स्थिर राख्न सघाए पनि सरकारले चिनीको भन्सार महसुल ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झार्नु स्वदेशी मिलहरूका लागि गम्भीर चुनौती बनेको रिपोर्टमा उल्लेख छ।
यसबाहेक, उद्योगसँग डिस्टिलरी (मदिरा इकाई) वा सह–ऊर्जा आयोजना नहुँदा आम्दानीको स्रोत केवल चिनी र सह–उत्पादनमा मात्र सीमित छ। मौसममा हुने फेरबदल र उखु खेतीमा आउने उतारचढावले उद्योगको कच्चा पदार्थ आपूर्तिमा जतिबेला पनि जोखिम निम्त्याउन सक्छ।
आगामी दिनमा चिनीको उत्पादन दर बढाउनु, ऋणको भार घटाउनु र चालू पुँजीको प्रभावकारी व्यवस्थापन गर्नु नै इस्टर्न सुगर मिल्सको मुख्य कार्यभार हुने रेटिङ रिपोर्टले औंल्याएको छ।