काठमाडौं। नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका दैनिक उपभोग्य वस्तुहरू आयात गरी बिक्री वितरण गर्दै आएको लाइफ केयर डिस्ट्रिब्युटर्सले एक वर्षमै करिब १५ प्रतिशतले व्यापारमा वृद्धि गरेको छ। केयर रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ३० लाख रुपैयाँ बराबरको कुल व्यापार (सञ्चालन आम्दानी) गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनी ८६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो।
कम्पनीले आफ्नो व्यावसायिक सञ्चालन र चालुपुँजी व्यवस्थापनका लागि बैंकहरूबाट लिएको कुल ९० करोड रुपैयाँ बराबरको अल्पकालीन ऋण सुविधाका लागि केयर रेटिङ नेपालले ‘एफोर’ रेटिङलाई पुनः पुष्टि गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्वहरू समयमै पूरा गर्न सक्ने क्षमता सन्तोषजनक रहेको र बाह्य वातावरणमा आउने सामान्य परिवर्तनले पनि ऋण तिर्ने क्षमतामा खासै ठूलो प्रभाव नपार्ने संकेत गर्दछ।
सन् २०११ मा निजी कम्पनीका रूपमा दर्ता भएको लाइफ केयरले हाल ६ वटा बहुराष्ट्रिय एफएमसीजी कम्पनीका १०० भन्दा बढी थरीका उत्पादनहरू नेपाली बजारमा वितरण गर्दै आएको छ। कम्पनीले हालै विश्वप्रसिद्ध गार्मेन्ट ब्रान्ड ‘जकी’ को नेपालका लागि आधिकारिक डिलरशिप सम्झौता समेत गरेको छ, जसले आगामी दिनमा कम्पनीको व्यापारिक आयतनलाई अझ माथि लैजाने अपेक्षा गरिएको छ। देशभर १०० भन्दा बढी स्टकिस्ट र सब–डिस्ट्रिब्युटरहरूको सञ्जाल हुनु र स्थापित ब्रान्डहरूसँगको आबद्धता नै कम्पनीको मुख्य सबल पक्ष रहेको रिपोर्टमा उल्लेख छ।
वित्तीय सूचकहरूको विश्लेषण गर्दा कम्पनीको नाफाको अवस्था औसत देखिएको छ। कम्पनीको सञ्चालन नाफा ५.०६ प्रतिशत रहेको छ। रिपोर्टअनुसार कम्पनीले आव २०२४÷२५ मा २ करोड ९० लाख रुपैयाँ नगद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्ष १ करोड ३० लाख रुपैयाँ मात्र थियो। कम्पनीको ऋण र पुँजीको सन्तुलन बुझाउने ‘ओभरअल गेयरिङ’ अनुपात १.३३ गुणा रहेको छ भने ब्याज तिर्न सक्ने क्षमता अर्थात् ‘इन्ट्रेस्ट कभरेज रेसियो’ १.६३ गुणा रहेको छ।
कम्पनीको नेतृत्व अनुभवी व्यवसायी जमुना अग्रवाल र सौरभ गर्गले गरिरहेका छन्। जमुना अग्रवाल कम्पनीको स्थापना कालदेखि नै आबद्ध छिन् भने प्रबन्ध निर्देशक सौरभ गर्गसँग एफएमसीजी क्षेत्रमा एक दशकभन्दा लामो अनुभव छ। कम्पनीले आफ्नो नगद प्रवाहलाई मजबुत बनाउन सूचीकृत कम्पनीहरूको सेयरमा समेत २१ करोड १० लाख रुपैयाँ लगानी गरेको छ, जसले आवश्यक पर्दा कम्पनीलाई थप तरलता प्रदान गर्नेछ।
यद्यपि, कम्पनीका सामु केही व्यावसायिक चुनौती र जोखिमहरू पनि विद्यमान छन्। आयातित सामानको व्यापार गर्ने भएकाले वैदेशिक मुद्राको विनिमय दरमा हुने उतारचढाव र बैंकको ब्याजदरमा आउने फेरबदलले कम्पनीको नाफालाई प्रभावित पार्न सक्छ। साथै, सरकारले आयातित वस्तुहरूमा अन्तःशुल्क र भन्सार महसुल बढाउने नीति (५ प्रतिशतबाट १५ प्रतिशत पुर्याइएको) ले उपभोक्ता मूल्य बढ्न गई मागमा संकुचन आउन सक्ने जोखिम रहन्छ। चालुपुँजीको सघनता उच्च हुनु र व्यापारिक चक्र २०५ दिनको हुनुले कम्पनीलाई सञ्चालन खर्चका लागि बैंक ऋणमा बढी निर्भर बनाइदिएको छ। तर, जकी जस्ता नयाँ र उच्च माग भएका ब्रान्डहरूको थपघटले आगामी दिनमा कम्पनीको वित्तीय साखलाई अझ सुदृढ बनाउने विश्वास रेटिङ प्रतिवेदनले उल्लेख गरेको छ।