काठमाडौं। नेपाली कांग्रेसले भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने र यसरबारे सरकार बोल्नुपर्ने माग गरेको छ।
आज कांग्रेस प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गर्दै सुशीला कार्की सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण रहेका बेला मानव अधिकार आयोगको प्रतिवेदन अपर्याप्त भए पनि त्यसमा किटान गरिएकामाथि अनुसन्धान हुनुपर्ने बताएको हो।
कांग्रेसले जेनजी आन्दोलनबारे सरकारले नै अनुसन्धान प्रारम्भ गर्नुपर्ने सुझाएको छ।
‘विगतको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको अधुरो, अपूर्ण तथा सीमित अनुसन्धानलाई मानव अधिकार आयोगको यो प्रतिवेदनले समेत अपर्याप्त देखाएको र स्वयं आयोगकै अध्यक्षमाथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने औँल्याएकोमा सरकारले यस सम्बन्धमा तत्काल अनुसन्धान प्रारम्भ गर्नुपर्दछ,’ प्रवक्ता देवराज चालिसेले आज निकालेको विज्ञप्तिमा भनिएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले स्वयं जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि दोष देखाएको र निजमाथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेकोले कार्की आयोगको प्रतिवेदन निष्पक्ष हुने नदेखिएको कांग्रेसको निष्कर्ष छ।
‘शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने अनि निर्दोष नागरिकको ज्यान लिने वा लुटपाट गर्ने जुनसुकै ओहोदामा भए पनि कुनै राजनीतिक संरक्षण वा दलगत पहुँचविना कडा कारबाही हुनुपर्दछ। सरकारले यसका लागि सर्वस्वीकार्य विधि चयन गरी निष्पक्ष व्यवहार गर्दै मुलुकको अपराध संहिताअनुसार कारबाही हुने वातावरण मिलाउनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ।
कांग्रेस मानव अधिकार आयोगको प्रतिवेदनबारे ६ बुँदे धारणा पनि सार्वजनिक गर्दै आयोगको सिफारिसबारे सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग छ।