सन् २००७ को मे अर्थात् नेपाली वैशाख महिनामा तीन महिने भिजिट भिसा पर्यटक भिसामा नेपालबाट संयुक्त अरब इमिरेट्स (युएई) जाँदा वरुण खनालको मनमा एउटै कुरा खेलेको थियो- अपरिचित ठाउँ र अन्योल।
फाइनान्स विषयमा एमबीए उत्तीर्ण वरुणसँग त्यतिबेला न कुनै जागिरको अफर थियो, न कुनै दीर्घकालीन योजना, न त सफल हुने कुनै ग्यारेन्टी नै। युएईमा टिक्न र आफ्नो खर्च जुटाउन उनले अगाडि जे काम आयो, त्यही रोजेका थिए। सोही क्रममा उनले एउटा होटलमा क्यासियरको रूपमा समेत काम सुरु गरेका थिए। त्यसको झन्डै दुई दशक अर्थात् २० वर्षपछि आजको दिनमा वरुणको परिचय रुपान्तरण भएको छ।
उनी अहिले एउटा बहुराष्ट्रिय प्रविधि कम्पनी अर्थात् मल्टिनेसनल टेक्नोलोजी कङलोमिरेटमा फाइनान्सियल कन्ट्रोलर अर्थात् वित्तीय नियन्त्रकको उच्च पदमा कार्यरत छन्। उनी खाडी क्षेत्रका ठूलाठूला विमानस्थलका पूर्वाधार निर्माण आयोजनाको व्यावसायिक र वित्तीय पक्षको व्यवस्थापन सम्हाल्छन्।
वरुणको यो सफलताको कथाले आजको समयमा यदि मानिस सामान्य कामबाट सुरु भएको यात्रा र कडा परिश्रम गर्न हिच्किचाउँदैन र निरन्तर नयाँ कुरा सिक्न उत्सुक रहन्छ भने युएईले उसलाई प्रगतिको ठूलो अवसर दिन्छ। जीवनमा कहिले नसोचेको कुरा पाइँदो रहेछ भन्ने एउटा ज्वलन्त उदाहरण पनि हो।
छोटो समयको भ्रमणको रुपरेखा कोरेका खनालको यात्रा क्रमिक रुपमा युएईमा दीर्घकालीन भविष्यमा रुपान्तरण भयो, जुन कहिले नसोचेको कुरा हो।
‘युएईमा मेरो व्यावसायिक यात्राको कुरा गर्दा एक-एक पाइला अघि चाल्दै अघि बढेर आज यो स्थानमा आइपुगेको हु्ँ। सुरुआती दिनलाई फर्किहेर्दा त्यति धेरै सुखद थिएन। यो कुरा इमानदारीपूर्वक स्वीकार्न मलाई कुनै गाह्रो लाग्दैन। यहाँ आएका थुप्रै प्रवासी दाजुभाइ तथा दिदीबहिनीजस्तै मैले पनि एकदमै सामान्य कामबाट आफ्नो यात्रा सुरु गरे र हरेक काम र मेरो मिहिनेतले अनुशासन, जिम्मेवारी र अप्ठ्यारो परिस्थितिमा पनि उभ्याउन र धैर्य हुन पाठ सिकाएको हो।’
छोटो बसाइँले बदलिदिएको जीवन
विगतका दिनलाई सम्झनुपर्दा सुरुआती चरणमा खनालले अन्तर्राष्ट्रिय अनुभव ज्ञान सीप हासिल गर्ने र केही समयपछि आफ्नो मातृभूमि फर्कने योजनाको सपना बुनेका थिए। तर, युएईको तीव्र विकासको गति, सुरक्षा र त्यहाँको बहुसांस्कृतिक वातावरणले खनाललाई त्यहाँ लोभ्याएन मात्र, उतै रोकिराख्यो। ‘म युएई ओर्लिएकै क्षणदेखि यहाँको व्यवस्थाबाट निकै प्रभावित भएको थिएँ। त्यतिबेला महसुस भयो-यो एउटा यस्तो देश हो, जहाँ तपाईं जुनसुकै ठाउँबाट आए पनि, जोकोहीसँग कडा परिश्रम गर्ने क्षमता र प्रतिभा छ भने अवसर पाउन सकिन्छ। यसमा कुनै संख्या छैन।’

छोटो समयको भ्रमणको रुपरेखा कोरेका खनालको यात्रा क्रमिक रुपमा युएईमा दीर्घकालीन भविष्यमा रुपान्तरण भयो, जुन कहिले नसोचेको कुरा हो। सन् २०१० मा उनकी श्रीमती पनि युएई आइन् र उनीहरूले सँगै मिलेर त्यहाँ आफ्नो जीवनको नयाँ अध्याय सुरु गरे। दुई सन्तान युएईमै अध्ययनरत छन्।
‘युएई केवल मेरो कर्मथलो मात्र नभई यहीँ नै परिवार हुर्कियो, जहाँ मेरा छोराछोरी पढ्दै छन् र जहाँ हामीले साँच्चिकै आफ्नै मातृभूमिसरह मान्ने गर्छौं’, उनले खुसी हुँदै भने।
निरन्तरको लगावले दिलाएको व्यावसायिक सफलता
खनालका अनुसार उनका सुरुआती दिनका प्रत्येक काम जस्तै सेल्स कोअर्डिनेटर प्रोजेक्ट एकाउन्टेन्ट , प्रशासक र क्यासियरको जागिरले उनलाई जीवनको एउटा महत्वपूर्ण अध्यायको पाठ सिकायो। सन् २०१२ मा खनालको जीवनमा ठूलो नयाँ मोड आयो, जब उनी एउटा कमर्सियल एडमिनिस्ट्रेटरको रूपमा अहिलेको कम्पनीमा आबद्ध भएका थिए।
उक्त कम्पनी एकदमै व्यवस्थित र उच्च स्तरको कार्यवातावरणको थियो, जसले सकारात्मक रूपमा अघि बढ्न प्रोत्साहन गरेको उनको भनाइ छ। समयअनुसार उनी सोही कम्पनीमा कमर्सियल अफिसर, कमर्सियल प्रोजेक्ट म्यानेजर हुँदै अन्त्यमा फाइनान्सियल कन्ट्रोलरजस्तो उच्च ओहोदामा पुग्न सफल भए, जुन हिजो कर्मको फल खनालले आज पाएका हुन्।
लामो समयदेखि विभिन्न देशलाई आफ्नो कर्मथलो बनाएर बसिरहेका अन्य प्रवासीजस्तै खनालले केही समयपछि मातृभूमि नेपाल नै फर्किने सोच बनाएका छैनन्।
खनालका अनुसार युएईको कार्यथलोको सबभन्दा ठूलो सबल पक्ष भनेकै त्यहाँ कामको स्तर दृढ संकल्प, अठोट र प्रतिबद्धताको उच्च कदर हुनु हो। ‘युएईको वातावरणले व्यावसायिकता, आफ्नो कामप्रतिको जिम्मेवारी र निरन्तरको सुधारलाई प्रोत्साहन गर्छ। राष्ट्रियता वा पृष्ठभूमि कहिल्यै पनि मेरो प्रगतिको बाधक बनेन। उल्टो, मैले के महसुस गरेँ भने यदि तपाईंले लगातार उत्कृष्ट काम गरिरहनुभयो भने अवसर आफैं पछ्याउँदै आउने रहेछन्।’

यति मात्र होइन, युएईको प्रतिस्पर्धी कार्यसंस्कृतिले नै आफूलाई व्यावहारिक अनुभव, अध्ययन र विभिन्न व्यावसायिक क्षेत्रमा आफूले ग्रहण गरेका प्रमाणपत्रको मद्दतले आफ्नो सीपलाई निरन्तर निखार्न र अझ राम्रो बनाउन प्रेरित गरेको श्रेय खनालले दिएका छन्।
उनका अनुसार युएईले दिएको सन्देश करियरको प्रगति यसमा निर्भर हुँदैन किनभने तपाईंले कहाँबाट सुरुआत गरे, मात्र यो कुरामा निर्भर गर्छ। यसबाट आफूलाई सुधार्न र अझ राम्रो बनाउन कति प्रतिबद्ध भइन्छ भन्ने दर्शाउँछ।
ठूला विमानस्थल आयोजनामा महत्त्वपूर्ण योगदान
खनालले खाडी क्षेत्रका विभिन्न विमानस्थलको ब्यागेज ह्यान्डलिङ सिस्टमको व्यावसायिक प्रशासनमा बिताए र दुबई विमानस्थल, आबुधाबी विमानस्थल, साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र किङ अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलजस्ता विश्वप्रसिद्ध र ठूला विमानस्थल आयोजनामा काम गरिसकको अनुभव बटुलिसकेका छन्। खनालको जिम्मेवारीमा बजेट निर्माण, वित्तीय अनुमान, वित्तीय प्रतिवेदन, लागत नियन्त्रण, लेखापरीक्षण समन्वय र आयोजनाको वित्तीय सुशासनजस्ता महत्त्वपूर्ण काम पर्ने गरेका छन्।
उनको यो भूमिका पर्दापछाडि जस्तो देखिए पनि ठूला विमानस्थलका पूर्वाधार आयोजना सफलतापूर्वक सम्पन्न गर्न वित्तीय अनुशासन कत्तिको महत्त्वपूर्ण हुन्छ भन्ने कुरामा विशेष जोड दिने गरेका छन्। ‘दुबई विमानस्थलबाट आवतजावत गर्ने लाखौं यात्रुलाई सहज बनाउने काममा पर्दापछाडि नै रहेर भए पनि मेरो कामले योगदान पुर्याउन पायो भन्ने सोच्दा मलाई व्यक्तिगत रूपमा निकै खुसी लाग्छ। युएईको यो विकास गाथाको एउटा हिस्सा बन्न पाउनु मेरा लागि निकै गर्वको कुरा हो’, खनालले भने।
किन खनाल युएईमै बस्न चाहन्छन्
लामो समयदेखि विभिन्न देशलाई आफ्नो कर्मथलो बनाएर बसिरहेका अन्य प्रवासीजस्तै खनालले केही समयपछि मातृभूमि नेपाल नै फर्किने सोच बनाएका छैनन्। तर, समय बढ्दै गएपछि युएई उनका लागि केवल काम गर्ने थलो मात्र रहेन। ‘घर भनेको तपाईं जन्मिएको ठाउँ मात्र होइन, यो त त्यो ठाउँ हो, जहाँ तपाईंको जीवनले सबैभन्दा अर्थपूर्ण रूप लिन्छ’, खनालले भने।
नेपालबाट गएका नेपाली अप्ठेरो परेको अवस्थामा खनालले सहजीकर्ताको भूमिका वहन गरेका छन्।
सुरक्षा, स्थायित्व र छोराछोरीका लागि उपलब्ध अवसरले नै उनको परिवारलाई युएईमै बसिरहने निर्णयमा पुर्याएको उनको बुझाइ छ। ‘अभिभावकको रूपमा हाम्रा लागि यी कुराले निकै ठूलो महत्व राख्ने रहेछन्। हाम्रा दुई सन्तान युएईमा हुर्के/बढे।

अहिले गुणस्तरीय शिक्षा पाइरहेका छन् र एउटा यस्तो बहुसांस्कृतिक वातावरण अनुभव गरिरहेका छन्, जसले उनीहरूलाई भविष्यमा विश्वमञ्चमा प्रतिस्पर्धा गर्न तयार पारिरहेको छ। सोही कारण हामीजस्ता पेशेवर र परिवार दुवैमा एक किसिमको आत्मविश्वास जगाउँछ।’
समाजप्रतिको उत्तरदायित्व र योगदान
व्यावसायिक करियरभन्दा बाहिर रहेर पनि खनाल युएईमा रहेका नेपाली समुदायसँग जोडिएका छन्। उनी आफ्नो नयाँ यात्रा सुरु गर्न युएई आइपुगेका नेपाली दाजुभाइ, दिदीबहिनीलगायत सबैलाई आवश्यकताअनुसार मार्गदर्शन गर्दै आएका छन्। नेपालबाट गएका नेपाली अप्ठेरो परेको अवस्थामा खनालले सहजीकर्ताको भूमिका वहन गरेका छन्। खनालको अनुभवको आधारमा उनी नयाँ आउनेलाई वित्तीय अनुशासन, करियरको विकास र युएईको जीवनशैलीसँग कसरी समाहित हुने भन्नेबारे सल्लाह दिन्छन्।
‘यदि मेरो यात्राले कुनै एक जना व्यक्तिलाई मात्रै पनि आफ्नो क्षमतामाथि विश्वास गर्न प्रेरित गर्छ भने मेरा लागि त्यो निकै मूल्यवान् कुरा हुनेछ। अधिकांश मानिस तत्कालको कमाइमा मात्र ध्यान केन्द्रित गर्छन्, तर म उनीहरूलाई के सल्लाह दिन चाहन्छु- ज्ञान, विश्वसनीयता र व्यावसायिक चरित्र निर्माणले नै दिगो र स्थायी सफलता दिलाउनेमा दुईमत छैन’, खनालले भने।- गल्फ न्यूजबाट साभार