काठमाडौँ। सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्ष २०८३/८४ को बजेट संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै निर्माणाधीन ती अस्पताल सो अवधिमा सम्पन्न गर्ने बताएका हुन्।
आधारभूत अस्पताल निर्माणका लागि सरकारले पाँच अर्ब ९० करोड विनियोजन गरेको अर्थमन्त्री डा वाग्लेले बताए।
बजेट वक्तव्यमा मानव विकास सूचकांक कम भएका हरेक प्रदेशका एक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण सुरु नभएका अस्पतालका हकमा वैज्ञानिक नक्सांकन गरेरमात्र निर्माण गर्ने अर्थमन्त्री डा. वाग्लेले बताए।
संघीय विशिष्टकृत अस्पतालमा जलन उपचार सेवा विस्तार गर्ने बजेटमा उल्लेख गरिएको छ। जलनको सघन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्ने उनले बजेटमा उल्लेख गरे।
मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ।
यस्तै, बालबालिकामा हुने क्यान्सर रोगको उपचार सरकार अस्पतालमा निःशुल्क गर्ने बजेटमा घोषणा गरिएको छ।
नागरिकस्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त धुलिखेल सामुदायिक अस्पताल र काठमाडौं ‘इन्स्टिच्युट चाइन्ड हेल्थ’को स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ।
तिलगंगा आँखा प्रतिष्ठानलाई आँखाको लेन्स उत्पादनमा प्रोत्साहन गर्न कर सहुलियत प्रदान गरिएको बजेटमा उल्लेख गरिएको छ। सरकारले महामारी रोकथाम तथा प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली खटाउने बजेटमा उल्लेख गरिएको छ।
देशभित्र उत्पादन तथा आपूर्ति औषधि तथा निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीको गुणस्तर र नियमन सुनिश्चित गर्न ‘फुड एण्ड ड्रग एडिमिस्ट्रेशन’ स्थापना गर्ने बजेटमा उल्लेख गरिएको छ।