काठमाडौं। दोलखा जिल्लाका रमणीय जिरी उपत्यका र सुरी गाउँको शिरमा अवस्थित हिलस्टेसन चेर्दुङ (३,६९० मिटर)को प्रचार गर्ने उद्देश्यले पत्रकार जीवन लामाले खिचेका तस्बिरहरूको प्रदर्शनी बिहीबारदेखि नयाँ बानेश्वरको ‘उमोजा कफी’मा सुरु भएको छ।
एक्सप्लोर नेपाल नेटवर्कले आयोजना गरेको ‘चेर्दुङ पदयात्राका तस्बिरहरू’ शीर्षक तीन दिने प्रदर्शनीमा लामाले खिचेका ३१ ओटा तस्बिरहरू राखिएका छन्। तस्बिरहरूमा गौरीशङ्कर हिमसृङ्खला, जीवनशैली, जिरी उपत्यका, झ्याँकुु गाउँ, साइक्लिङ, संस्कृति आदिका प्रतिविम्व छन्।
प्रदर्शनीको शुभारम्भ विश्व पर्वतारोहण महासंघका मानार्थ विज्ञ दूत एवम् पर्यटनविज्ञ आङछिरिङ शेर्पाले गरेका हुन्। उनले चेर्दुङसँगका अनुभूति बाँड्दै फोटो प्रदर्शनीबाट चेर्दुङ चम्किने विश्वास व्यक्त गरे।
कार्यक्रममा मेलुङ गाउँपालिका, दोलखाका प्रमुख हिराकुमार थोकर, वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्की, पर्यटन पत्रकार अमृत भादगाउँले र पत्रकार मेनका कुँवरले शुुभकामना व्यक्त गरेका थिए। उक्त अवसरमा फोटो पत्रकार लामाले जन्मथलोप्रतिको अभिभारा पूरा गर्न निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए।

चेर्दुङसहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा निरन्तर कार्यक्रम सञ्चालन गरिरहने आयोजक संस्थाका प्रमुख एवम् पर्यटन अभियन्ता लिलाराम खड्काले जानकारी दिएका छन्।
चेर्दुङ, जिरी नगरपालिकाका ५, ३, २ र ४ नम्बर वडा एवम् गौरीशङ्कर गाउँपालिकाका ४ र ५ नम्बर वडामा पर्छ। चेर्दुङ आफैंमा प्रकृति र अध्यात्मको दोभान हो। यहाँबाट हिमाली सौन्दर्य, सूर्योदय र सूर्यास्तको मनोहारी दृश्य नियाल्न पाइन्छ। डाँडाबाट गौरीशङ्कर हिमालसँग आँखा जुधाउँदा स्वर्गलोकमा पुगेको अनुभूति हुन्छ। मनको तनाव, पीडा र अप्ठेरोबाट मुक्ति मिल्छ।
सर्लक्क हिमाल खुलेका बेला आँखा झिम्क्याउनै मन लाग्दैन। पश्चिमदेखि पूर्वसम्म हिमालको लामो लस्कर देखिन्छ। पूर्वी भेकबाट क्रमशः नुम्बुर, रामदुङ, छेकिगो, धारे मेलुङत्से, लाक्पा दोर्जे, टासी लाप्चा, गौरीङ्कर, आमा बामरे, गणेश र गोर्खा हिमाल देख्न सकिन्छ। गौरीशङ्कर हिमाल त आँखै सामुन्ने देखिन्छन्।
यहाँ ध्यान र योग साधना गर्दा आफैंलाई बिर्सिइन्छ। डाँडामा फराकिलो चौर छ। सिरसिर बतास चलिरहन्छ। चौरमा उभिएर वा बसेर चारैतिर नजर डुलाउँदा मनमा ऊर्जा बढ्छ। उत्साहको फूल फुल्छ। धार्मिक हिसाबले हिन्दु र बौद्धमार्गीको साझा तीर्थ मानिन्छ। डाँडाको शिरमा महादेव मन्दिर छ। नजिकै एउटा ठुलो ढुङ्गामा गुरु रिम्पोचे अर्थात् पद्यसम्भवका पाइला छन्।

बौद्धमार्गीका मतअनुसार गुरु रिम्पोचे हिमाली भेगमा बौद्ध धर्म फैलाउने क्रममा यहाँ आइपुगेका थिए। यता आएर उनी ध्यानमा बसे। डाँडामा ओढार पनि छ, जसलाई ध्यान केन्द बनाइएको छ। वर्षैभरि चेर्र्दुङ घुम्न सकिन्छ। बर्खामा हिउँफूल, हिउँदमा हिमाल र चैतवैशाखमा गुराँसका रङमा चेर्दुङ मुस्कुराउँछ। बर्खामा रङविरङका फूल फुल्छन्। चैतमा लालीगुराँस, वैशाखमा रातो चिमल र जेठमा सेतो चिमल फुल्छ।
असारदेखि भदौसम्म डाँडामै चौंरीगोठ राखिन्छ। मनसुनी यात्रामा चौंरीपालन र गोठालाको जीवनशैली अध्ययन गर्न पाइन्छ। चेर्दुङमा पर्यटकका लागि खाने र बस्ने सुविधा छैन। क्याम्पिङ गर्ने ठाउँ भने प्रशस्तै छ।
‘जाऔं है चेर्दुङ’ अभियान
चेर्दुङको एग्रेसिभ मार्केटिङ गर्न युवा उद्यमी लीलाराम खड्काको नेतृत्वमा ‘जाऔं है चेर्र्दुङ’ अभियान शुभारम्भ गरिएको छ।
वि.सं. २०८१ मङ्सिर २४ देखि २७ गतेसम्म लेखक, पत्रकार, साइक्लिस्ट, डकुमेन्ट्री मेकर र पर्यटनकर्मीको टोलीलाई चेर्दुङ अभियान शुभारम्भ गरिएको छ। यसबाट सकारात्मक प्रभाव परेको छ।