काठमाडौं। २०८२ मा नेपाल आउने विदेशी पर्यटकहरुको संख्या ११ लाख ५८ हजार ४५९ थियो। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको यो तथ्यांक हवाई जहाजमार्फत नेपाल आएका विदेशी पर्यटकको संख्या हो। यही संख्यामा अझ गैरआवासी नेपाली संघ (एनआरएनए)हरुको संख्यासमेत समावेश गरिएको छ। गैरआवासीय नेपालीहरु बसाइँ सकभर होटल वा रिसोर्टमा हुँदैन।
अहिले नेपालको होटलको संख्या र कोठा संख्यालाई आधार मान्ने हो भने वर्षको ३० लाख पर्यटकलाई धान्न सक्ने रहेको होटल संघ नेपाल (हान)ले केही समयअघि मात्र सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। तर, अहिले नेपालमा वर्षको ११ लाख मात्र पर्यटकहरु आइरहेका छन्। यो भनेको होटलमा रहेको कोठा संख्याको आधारमा एक तिहाई मात्र हो।
पर्यटक आगमनको संख्या होटलको क्षमताभन्दा निकै कम रहँदा पनि अहिले विदेशी चेन होटलहरुको आकर्षण भने धेरै रहेको छ। एकपछि अर्को लक्जरी ब्राण्डहरु नेपाल आउनका लागि सम्झौता गरिरहेका छन्।
११ लाख पर्यटकले धान्न सक्छ लक्जरी होटल?
काठमाडौं म्यारियटका सञ्चालक शशीकान्त अग्रवालले पर्यटकहरुको आगमनको बढ्दो ग्राफलाई ध्यानमा राखेर जेडब्लु म्यारियट सञ्चालनका लागि सम्झौता गरिएको जानकारी दिए। ‘अहिलेकै पर्यटकको संख्याले जेडब्लु म्यारियटको अकुपेन्सी राम्रो हुन सक्दैन,’ सञ्चालक अग्रवालले भने, ‘२०३१ को लक्ष्य राखिएका छौँ, त्यो बेलासम्म वार्षिक ३० लाख पर्यटक पुग्छ भन्ने अपेक्षा राखिएको छ।’
कम्तीमा जेडब्लु म्यारियटको सञ्चालन खर्च धान्न ६५ प्रतिशत होटल अकुपेन्सी हुनुपर्ने र एउटा कोठाको मूल्य एक रातको २५० डलर हुनुपर्ने उनको भनाइ छ। अहिले काठमाडौं म्यारियटले १२५ डलरदेखि कोठाहरु बेचिरहेको बताउँदै अबको ५ वर्षमा २०० अमेरिकी डलर कोठाको पुग्ने अपेक्षा आफूहरुले राखेर जेडब्लुसँग सम्झौता गरी काम सुरु गरिएको बताउँछन्।
अग्रवालले अहिले काठमाडौंमा मात्र एक साथ तीन वटा होटल सञ्चालन गरिरहेका छन्। उनले म्यारियटअन्तर्गतकै काठमाडौं म्यारियट, फेयरफिल्ड र मोक्सी सञ्चालन गरिरहेका छन्। जेडब्लु म्यारियट भने भक्तपुरको नयाँ ठिमीमा निर्माण गर्ने छन्।
काठमाडौं र इटहरीमा एक साथ दुई वटा पाँचतारे होटल सञ्चालन गरिरहेका युवा उद्यमी देशबन्द बस्नेत (अजित)ले बढ्दो पर्यटकको आगमनलाई ध्यानमा राखी इटहरीमै कोशी प्रदेशकै सबैभन्दा ठूलो सम्मेलन केन्द्रसहितको रिसोर्ट बनाउने तयारी थालेको बताउँछन्। पछिल्लो समय भारतीय पर्यटक घुम्न निस्कनेको संख्या व्यापक रहेको र बेडिङ डेस्टिनेशनको रुपमा नेपाल रोजाइमा पर्न सक्ने भएकाले पनि एकपछि अर्को लक्जरी ब्राण्डहरुले नेपालप्रति आँखा लगाएको हुन सक्ने उनको भनाइ छ। बस्नेतले अहिले काठमाडौंको सुकेधारमा मर्क्युर र इटहरीमा रमडा होटल सञ्चालन गरिरहेका छन्।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले सरकारी तथ्यांकअनुसार आएका पर्यटकहरुको अहिलेको संख्या ठूला होटलका लागि अपुग हुने बताउँछन्। एकपछि अर्को ठूला होटलहरु सञ्चालनको तयारीमा रहेको बेला पर्याप्त मात्रामा संख्या पुर्याउन नयाँ गन्तव्यहरुको खोजीमा लाग्नु पर्ने उनको भनाइ छ।
छिमेकी मुलुक भारत र चीनबाट धेरैभन्दा धेरै पर्यटक नेपाल आउनलाई आकर्षण गराउने साथै सडकमार्फत आउनेहरुलाई पनि तथ्यांकमा राख्नुपर्ने उनले बताए। ‘यो महिना मात्र भारतबाट महँगा गाडीहरु लिएर धेरै भारतीय पर्यटकहरु नेपाल आएका छन्,’ गण्डकी प्रमुख लामिछानेले भने, ‘सडक मार्गमार्फत आउने पर्यटकहरुको आगमनको दर र हवाईमार्गबाट आउने हवाई यात्रुको बढ्दो दरलाई लिएर ठूला होटलहरु सञ्चालनमा आएको हुन सक्छ।’
नेपालमा खर्चालु पर्यटकहरु ल्याइरहेको कोर्रा टुर्स एण्ड ट्राभलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजय अमात्यले विदेशी चेन होटलको नेपाल प्रवेशले विश्वभर निशुल्क प्रचार हुने गरेको बताउछन्। ‘एउटा होटलको ब्राण्ड नेपाल आउनु भनेको निश्चित संख्यामा पर्यटक बढाउनु नै हो,’ सिईओ अमात्यले भने, ‘संख्यामा भन्दा गुणस्तरीय पर्यटकहरु मात्र आएपनि होटलहरु भरिभराउ हुन्छ, सायद, यही विश्लेषण व्यवसायीहरुले पनि गरेको हुन सक्छ।’
अक्टोबरबाट सुरु हुँदैछ द लक्जरी कलेक्सन
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको लगानीमा निर्माण भइरहेको पाँचतारे होटल द लक्जरी कलेक्सन २०२६ को अक्टोबरमा सञ्चालन गर्ने गरी तयारी छ। १२ वर्षअघि निर्माण सुरु भएको सो होटलमा २२५ वटा कोठाहरु छ।
रिट्ज-काल्र्टन र जेडब्लु कहिले?
चौधरी ग्रुपसहित विभिन्न ग्रुपको लगानी रहेको रिट्ज कार्ल्टन ठमेलमा निर्माण हुने छ। निर्माणका लागि जग पुजासमेत भइसकेको छ। २०२९ सम्ममा सञ्चालनमा ल्याउने तयारी गरिएको सो होटल म्यारियट ब्राण्डको सबैभन्दा लक्जरी हो।
यस्तै एमएस ग्रुपअन्तर्गतको कम्पनी क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडमार्फत जेडब्लु म्यारियट भक्तपुरको नयाँ ठिमीमा निर्माण हुनेछ। २०३१ भित्रमा सञ्चालनमा आउने सो होटलमा २२१ वटा कोठाहरु रहने छ।