काठमाडौं। विवाह पर्यटन (वेडिङ टुरिजम)को नयाँ केन्द्रका रूपमा उदाउँदै गएको जनकपुरधाममा तारेस्तरका होटल खुल्ने क्रम तीव्र बनेको छ। सरकारले जनकपुरलाई ‘वेडिङ डेस्टिनेसन’ का रूपमा प्रवर्द्धन गर्न थालेसँगै निजी क्षेत्रबाट अर्बौं रुपैयाँको लगानी भित्रिन थालेको हो।
धनुषाको गोदार क्षेत्रमा करिब १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ लगानीमा चारतारे मनसारा होटल निर्माण भइरहेको छ। सन् २०२८ को मध्यसम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित अघि बढाइएको परियोजनाको हालसम्म २२ प्रतिशत वित्तीय प्रगति भइसकेको कम्पनीले जनाएको छ।
होटलको लगानी संरचनाअनुसार कुल लागतको ३९ प्रतिशत बैंक ऋण र बाँकी ६१ प्रतिशत संस्थापकहरूको स्वपुँजीबाट जुटाइनेछ। ९ हेक्टर क्षेत्रफलमा फैलिएको होटलमा ६० वटा सुविधासम्पन्न कोठा रहनेछन्। एक प्रेसिडेन्सियल सुइट, दुई सुइट रुम, ३६ डिलक्स र २१ स्ट्यान्डर्ड रुम समावेश हुनेछन्।
मनसाराले विवाह तथा उच्चस्तरीय आतिथ्य सेवालाई लक्षित गर्दै आधुनिक बैंक्वेट हल, सम्मेलन केन्द्र, रेस्टुरेन्ट तथा बार, स्विमिङ पुल, स्पा, हेल्थ क्लब र विशेष ‘वेडिङ बैंक्वेट’ निर्माण गरिरहेको छ।
जनकपुरधाम धार्मिक, सांस्कृतिक र वैवाहिक पर्यटनको केन्द्रका रूपमा विकसित हुँदै गएको अवस्थामा यस्तो स्तरको होटलले क्षेत्रीय पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। जानकी मन्दिर, धनुषाधामलगायतका धार्मिक स्थलमा प्रत्येक वर्ष हजारौं तीर्थयात्री आउने गर्छन्।
पछिल्ला वर्षमा मिथिला विवाह परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने सरकारी प्रयासले भारतीय विवाह समारोह र धार्मिक पर्यटकको आकर्षण समेत बढाएको छ।
भारत सरकारले सञ्चालन गरेको ‘रामायण सर्किट’ मा जनकपुरको समावेशले सीमापार पर्यटक आगमन थप बढ्ने विश्वास गरिएको छ। तर, बढ्दो पर्यटकीय सम्भावनाअनुसार उच्चस्तरीय होटल पूर्वाधारको अभाव अझै कायम छ। अतः त्यसलाई सम्बोधन गर्न मनसारा होटलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
पर्यटन क्षेत्रका जानकारका अनुसार विवाह समारोह, धार्मिक पर्यटन र कर्पोरेट कार्यक्रमलाई लक्षित गरी निर्माण भइरहेको मनसारा होटलले जनकपुरको आतिथ्य उद्योगलाई नयाँ उचाइमा पुर्याउन सक्छ।
सन् २०२४ मा स्थापना भएको मनसारा होटलको अध्यक्षमा इन्दिरा पन्त र सञ्चालकमा नवराज बुर्लाकोटी रहेका छन्। पन्त कालिञ्चोक हाइड्रोपावर तथा राष्ट्रिय सहकारी महासंघ उपाध्यक्षसमेत हुन् भने बुर्लाकोटी हाइलाइफ एग्रो एन्ड फुड इन्डस्ट्रिज र कालिञ्चोक हाइड्रोपावरका सञ्चालक हुन्।
उता, जनकपुरमै व्यवसायी रामेश्वर साहले पनि पाँचतारे रोयल टुलिप होटल सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन्।