काठमाडौं। युरोपेली सङ्घ (इयु)ले नेपाल तथा दक्षिण एसियासँगको हवाई सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित काठमाडौंमा दुई क्षेत्रीय हवाई सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ।
यसबाट दक्षिण एसियामा हवाई सुरक्षासम्बन्धी संवाद र सहकार्यका लागि काठमाडौँ महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ। इयु–दक्षिण एसिया हवाई साझेदारी परियोजना (इयु–साउथ एसिया एभिएसन पार्टनरसिप प्रजेक्ट) अन्तर्गत आयोजित यी कार्यक्रममार्फत दक्षिण एसियाका हवाई नियामक निकाय, वायुसेवा कम्पनी, उद्योग क्षेत्रका प्रतिनिधि तथा प्राविधिक विज्ञहरूबीच अनुभव आदानप्रदान, व्यावसायिक सञ्जाल विस्तार तथा हवाई सुरक्षासम्बन्धी व्यावहारिक उपायबारे छलफल हुने जनाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को आयोजना तथा एटिआरसँगको सहकार्यमा आजदेखि सुरु भएको क्षेत्रीय हवाई सुरक्षा कार्यक्रमको तेस्रो मोड्युल असार ११ गतेसम्म सञ्चालन हुनेछ। उक्त कार्यक्रममा चालक दलको तालिम र सञ्चालन मापदण्डका विषयमा केन्द्रित हुँदै उडान सञ्चालनका मानवीय तथा प्रक्रियागत पक्ष, निर्णय प्रक्रिया, सञ्चालनगत लचकता तथा थकान व्यवस्थापनका विषयमा छलफल गरिने छ।
यहाँस्थित इयुको प्रतिनिधिमण्डलका कार्यवाहक प्रमुख थोमस मिलारले हवाई सुरक्षा नेपाल सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अर्थमन्त्रीले हालैको बजेट वक्तव्यमा युरोपेली आयोगका चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको विषयलाई इयुले सकारात्मक रूपमा लिएको बताए। उनले सुधारात्मक कार्ययोजना कार्यान्वयनसम्बन्धी पूर्ण दस्तावेज हालै प्राप्त भएको र युरोपेली आयोगअन्तर्गतको महानिर्देशनालय (डिजी मुभ)ले आगामी महिनामा त्यसको समीक्षा गर्ने जानकारी दिए।
उनले नेपाली नागरिक तथा यात्रुले अपेक्षा गरेको सुरक्षा स्तर हासिल गर्न नेपाल सरकारसँग मिलेर काम गर्न युरोपेली सङ्घ तथा उसका सदस्य राष्ट्रहरू प्रतिबद्ध रहेको बताए। सदस्य राष्ट्रहरूले प्राविधिक सहयोग उपलब्ध गराउँदै सरोकारवालासँग निकट सहकार्य गरी प्रगतिलाई समर्थन गरिरहेको उनको भनाइ थियो।
यसैगरी, असार १५ देखि १८ गतेसम्म काठमाडौंमा दक्षिण एसिया क्षेत्रीय पहल (सारी)अन्तर्गत ‘कन्टिन्युङ एयरवर्दिनेस’ सम्बन्धी नियामकीय अद्यावधिक कार्यशाला आयोजना गरिने छ। कार्यशालामा युरोपेली सङ्घीय हवाई सुरक्षा निकाय (इआसा)का नवीनतम नियमावली तथा आधुनिक अनुगमन अवधारणाबारे छलफल गरिने छ।
यसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकसित हुँदै गइरहेका आवश्यकताहरू कार्यान्वयन गर्न सम्बन्धित निकाय तथा उद्योग क्षेत्रलाई सहयोग पुग्ने विश्वास गरिएको छ।
यहाँस्थित इयुको प्रतिनिधिमण्डलका अनुसार यी कार्यक्रमहरूले प्राविधिक अनुभव आदानप्रदानको सीमित दायराबाट अघि बढेर क्षेत्रीय सहकार्यलाई व्यवस्थित र दीर्घकालीन स्वरूप दिन सहयोग गर्ने छन्। साथै, दक्षिण एसियामा हवाई क्षेत्रसम्बन्धी संवादका लागि नेपाललाई महत्वपूर्ण मञ्चका रूपमा स्थापित गर्न तथा व्यावहारिक, मागमा आधारित र दीर्घकालीन साझेदारीमार्फत हवाई क्षेत्रका सरोकारवालालाई सहयोग गर्ने युरोपेली सङ्घको प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गरेका छन्।
हवाई सुरक्षाको सुदृढ प्रणालीले क्षेत्रीय सम्पर्क विस्तार, पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै इयुले नियामक निकाय, सेवा प्रदायक र उद्योग क्षेत्रबीचको सहकार्यलाई प्रवर्द्धन गरी दक्षिण एसियामा सुरक्षित, सबल तथा भविष्यउन्मुख हवाई यातायात प्रणाली निर्माणमा सहयोग गरिरहेको जनाएको छ।
इयु–दक्षिण एसिया हवाई साझेदारी परियोजना इयुद्वारा वित्तपोषित तथा युरोपेली सङ्घीय हवाई सुरक्षा निकाय (इआसा)द्वारा कार्यान्वयन गरिएको इयु–एसिया हवाई साझेदारी परियोजनाअन्तर्गतको क्षेत्रीय प्राविधिक सहकार्य कार्यक्रम हो।
परियोजनाले दक्षिण एसियाका नागरिक उड्डयन निकाय तथा हवाई क्षेत्रका सरोकारवालालाई नियामकीय संवाद, प्राविधिक अनुभव आदानप्रदान तथा क्षमता अभिवृद्धिका लक्षित कार्यक्रममार्फत सहयोग गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुरूप उच्चस्तरीय हवाई सुरक्षा र प्रभावकारी नियमन प्रवर्द्धन गर्दै आएको छ।