काठमाडौं। आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते २३९ वर्षको राजतन्त्र विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको सम्झनास्वरुप यो दिवस मनाउन थालिएको हो।
जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ।
२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए। गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो। गणतन्त्र दिवस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायकप्रसाद यादव, सभामुख, राष्ट्रियसभा अध्यक्ष, राजनीतिक दलका शीर्ष नेताहरुलगायतले शुभकामना व्यक्त गरेका छन्। यद्यपि प्रधानमन्त्री बालेन्द्र शाहको शुभकामना अहिलेसम्म सार्वजनिक भइसकेको छैन।
आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्य रुपमा मनाइनेछ।
आजको कार्यक्रमलाई प्रधानमन्त्री शाहले भने सम्बोधन गर्ने छैनन्। गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरिसकेका छन्।
यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास थियो। तर, यसपटक संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न भनी पत्राचार गरिएको छ।
यसअघि, सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेस गरेका थिए।
यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद् बैठक अवरुद्ध गरेका थिए।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए। प्रमुख प्रतिपक्षीको अवरोध र विपक्षी दलहरूको वहिष्कारबीच नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गरिएको थियो ।निर्वाचित भएपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन पनि गरेका छैनन्।