काठमाडौं। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन÷सिफारिस आह्वान गरेको छ।
मुलुकको परराष्ट्र नीति, अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धन गर्न मन्त्रालयले बिहीबार बेलुकी राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकको दरखास्त मागेको हो।
मन्त्रालयको सूचनाअनुसार नियुक्ति प्रक्रियाअन्तर्गत इच्छुक तथा योग्य उम्मेदवारहे स्वयंले पनि आफ्नो दरखास्त पेस गर्न सक्नेछन् । साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ।
राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को अधीनमा रही तयार गरिएको वेबसाइटमा उपलब्ध कार्यशर्तबमोजिमको आवश्यक योग्यता पुगेका उम्मेदवारको सिफारिस गर्न सकिनेछ।
सम्भावित उम्मेदवारको आवेदन÷सिफारिस गर्दा मन्त्रालयको वेबसाइटमा उपलब्ध फारममार्फत विस्तृत व्यक्तिगत विवरणलगायतका कागजात पेस गर्नुपर्नेछ वा मन्त्रालयले दिएको इमेल ठेगानामा सम्पर्क पनि गर्न सकिने सूचनामा उल्लेख छ।
दरखास्त÷सिफारिस बुझाउने अन्तिम मिति जेठ २२ गते अपराह्न ५ः०० बजेसम्म निर्धारण गरिएको छ भने रीत नपुगेका वा तोकिएको म्याद नाघी आएका आवेदनलाई छनोट प्रक्रियामा समावेश नगरिने सूचनामा उल्लेख छ।
त्यसैगरी मन्त्रालयले प्राप्त आवेदन तथा सिफारिसबाट प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा उम्मेदवारको ‘सर्टलिस्ट’ गर्नेछ र ‘सर्टलिस्ट’मा परेका उम्मेदवारलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिनेछ।