काठमाडौं। साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) उपाधि जितेको छ। आइतबार अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले स्तब्ध पार्दै बेंगलुरुले लगातार दोस्रोपटक उपाधिमाथि कब्जा जमाएको हो।
बेंगलुरु आईपीएलको इतिहासमा लगातार दुई पटक उपाधि जित्ने तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किङ्स (२०१० र २०११) र मुम्बई इन्डियन्स (२०१९ र २०२०) ले मात्र यो सफलता हासिल गरेका थिए। लिग चरणमा समेत शीर्ष स्थानमा रहेको बेंगलुरुले यसअघि पहिलो क्वालिफायरमा पनि गुजरातलाई नै हराएको थियो।
अहमदाबादमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रनको मध्यम योगफल खडा गरेको थियो। गुजरातका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ५० रनको अविजित अर्धशतकीय पारी खेले भने निशान्त सिन्धुले २० र जस बट्लरले १९ रनको योगदान दिए। गुजरातलाई सस्तैमा रोक्ने क्रममा बेंगलुरुका रसिख सलामले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। त्यस्तै जोश हेजलवूड र भुवनेश्वर कुमारले २–२ विकेट तथा क्रुनाल पान्ड्याले १ विकेट लिए।
गुजरातले दिएको १५६ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १८ ओभरमा ५ विकेट गुमाउँदै सहजै जित हासिल गर्यो। बेंगलुरुको जितमा स्टार ब्याटर विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै ४२ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रनको अविजित इनिङ खेले।
त्यस्तै भेनकटेश अय्यरले ३२ रन जोडेर कोहलीलाई बलियो साथ दिए । बलिङतर्फ गुजरातका राशिद खानले २ विकेट तथा मोहम्मद सिराज, कगिसो रबाडा र अर्शद खानले १–१ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
बेंगलुरुले गत संस्करण (२०२५) को फाइनलमा पन्जाब किङ्सलाई पराजित गर्दै पहिलोपटक ट्रफी उचालेको थियो।
आईपीएलको इतिहासमा सर्वाधिक उपाधि जित्ने कीर्तिमान चेन्नई र मुम्बईको नाममा छ, जसले ५–५ पटक उपाधि जितेका छन्। त्यस्तै, कोलकाता नाइट राइडर्सले ३ पटक तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १–१ पटक उपाधि जितेका छन्।