काठमाडौं। अर्थ मन्त्रालयका अनुसार देशभरका १० वटा औद्योगिक क्षेत्रभित्र हाल ७०६ वटा उद्योग छन्। तीमध्ये ६३८ उद्योग सञ्चालनमा छन् भने २६ वटा निर्माणाधीन र १६ वटा बन्दास्थामा रहेका छन्। औद्योगिक क्षेत्र ६ हजार रोपनीमा फैलिएको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार हाल सञ्चालित उद्योगबाट २० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। आर्थिक सर्वेक्षणका नेपालको औद्योगिक र व्यावसायिक वातावरण सुधार गर्न तथा उद्योग र लगानीलाई सहजीकरण गर्न सरकारले विभिन्न नीतिगत तथा प्रक्रियागत सुधारका काम अघि बढाएको छ।
उद्योग सञ्चालन सहज बनाउन हाल औद्योगिक व्यवसाय ऐन (२०७६), विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (२०७५), कम्पनी ऐन (२०६३) र विशेष आर्थिक क्षेत्र ऐन (२०७३) मा भएका संशोधनले लगानीकर्ता लाभान्वित हुने अर्थ मन्त्रालयको भनाइ छ।
मुलुकभित्रै रोजगारी र स्वरोजगारीका अवसर प्रवर्द्धन गर्न सरकारले ‘राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१’ र ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरेको थियो।
स्टार्टअपको विकास र प्रवर्द्धनका लागि ‘व्यवसाय संव्रद्धन केन्द्रसमेत स्थापना गरिएको छ। उद्योग क्षेत्रको सेवा प्रवाहलाई चुस्त बनाउन विद्युतीय प्रणालीको प्रयोग सुरु गरिएको छ।
अहिले कम्पनी दर्तालगायत कार्य पूर्ण रूपमा स्वचालित भएका छन्। विशेष गरी उद्योग विभागमा ५० करोड रुपैयाँसम्मको वैदेशिक लगानी अब स्वचालित प्रणालीबाटै स्वीकृत हुने व्यवस्था कार्यान्वयनमा आएको छ, जसले गर्दा प्रक्रियागत झन्झट हटेको छ।
उपभोक्ता हक संरक्षणका लागि ०८१ मा स्थापना गरिएको ‘उपभोक्ता अदालत’ ले आफ्नो सक्रियता बढाएको छ। अदालतमा दर्ता भएका ४९ वटा मुद्दामध्ये हालसम्म २७ वटाको फैसला भइसकेको सर्वेक्षणमा उल्लेख छ।