नेपालगञ्ज। कर्णाली डेभलपमेन्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएपछि आन्दोलित बचतकर्ताहरूले सोमबार (आज) राष्ट्र बैंकको कार्यालय घेराउ गरेका छन्। दोस्रो चरणको आन्दोलनअन्तर्गत सयौँको संख्यामा रहेका पीडितहरूले नेपालगञ्जस्थित नेपाल राष्ट्र बैंकको गेटमा धर्ना दिँदै नाराबाजी गरेका हुन्।
साथै, पीडितले कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयमा समेत नाराबाजी गरेका छन्। कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको विरोध र्याली राष्ट्र बैंक चोक पुगेर घेराउमा परिणत भएको थियो। आन्दोलनकारीहरूले सरकार र राष्ट्र बैंकले लाइसेन्स दिएकै कारण आफूहरूले ढुक्क भएर पैसा राखेको भन्दै अहिले आएर नियामक निकाय पन्छिन नपाउने बताएका छन्।

‘राष्ट्र बैंकले कहिले हकप्रद त कहिले एफपीओको नाममा दुई वर्षदेखि झुटा आश्वासन दिएर हामीलाई अल्झाइरहेको छ,’ एक पीडितले आक्रोश पोखे, ‘सरकारले अनुमति दिएको बैंकमा हाम्रो पैसा फसेकाले यसको शोधभर्ना सरकारले नै गर्नुपर्छ।’
विगत डेढ वर्षदेखि कर्णाली डेभलपमेन्ट बैंकमा जम्मा गरेको आफ्नो मिहिनेतको कमाइ फिर्ता नपाएपछि आक्रोशित बचतकर्ताहरूले नेपालगञ्जस्थित राष्ट्र बैंकको प्रादेशिक कार्यालय घेराउ गर्दै विभिन्न मागसहित प्रर्दशन गरेका हुन्। ‘हाम्रो पैसा फिर्ता गर, भ्रष्ट सञ्चालकलाई कारबाही गर, बैंकिङ घोटाला बन्द गर,’ भन्दै सयौँको संख्यामा रहेका पीडितहरूले राष्ट्र बैंकको मुख्य गेटमा धर्ना दिएर कामकाज समेत प्रभावित पारेका छन्।
बाँके, बर्दिया र दाङ जिल्लाका १९ वटा शाखाहरूबाट पीडित भएका सर्वसाधारणहरू जेठ १८ गतेदेखि दोस्रो चरणको सशक्त आन्दोलनमा उत्रिएका हुन्। यसअघि गत वैशाख महिनामा पहिलो चरणको आन्दोलन गर्दा बैंक प्रशासन र नियामक निकायले बचत फिर्ता गर्ने आश्वासन दिएपनि हालसम्म कुनै ठोस प्रगति नभएपछि पीडितहरू पुनः सडकमा उत्रिन बाध्य भएका हुन्।

आन्दोलनमा सहभागी बचतकर्ताहरूले सुनाएको पीडाअनुसार उनीहरुले बैंकमा लाखौँ रुपैयाँ बचत भएर पनि गोजीमा एक सुको नहुँदा धेरै वृद्धवृद्धाहरू औषधि उपचार नपाएर अस्पतालको बेडमा मृत्युसँग लडिरहेका छन्। ‘आफ्नै पैसा निकाल्न जाँदा बैंकले रित्तो हात फर्काउँछ, यता बिरामी आमाबुबालाई औषधि किन्ने पैसा छैन,’ एक प्रदर्शनकारीले आँसु पुछ्दै भने।
आर्थिक अभावकै कारण धेरै अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन सकेका छैनन्। विद्यालयको शुल्क तिर्न नसक्दा बालबालिकाको पढाइ रोकिएको छ भने कतिपयले छोराछोरीको विवाहका लागि वर्षौँदेखि जोगाएको रकम बैंकले रोकिदिएपछि विवाह नै स्थगित गर्नुपर्ने अवस्था आएको छ। कतिपय पीडितहरू त मानसिक सन्तुलन गुमाएको समेत पीडित समूहको गुनासो छ। खाडी मुलुकका तप्त घाममा दैनिक १४–१५ घण्टा पसिना बगाएर पठाएको रेमिट्यान्स समेत कर्णाली डेभलपमेन्ट बैंकले रोकिदिएपछि प्रवासमा रहेका नेपाली र उनीहरूको परिवार समेत अहिले समस्यामा परको पीडितले गुनासो गरेका छन्। पैसा नपाएकै कारण घरमा झगडा हुने र कतिपयको पारिवारिक सम्बन्ध समेत विच्छेद भएको घटनाहरू बाहिर आएका छन्।

नियामक निकायले बैंकका संस्थापक र भ्रष्ट पदाधिकारीहरूलाई कारबाही गर्नुको साटो संरक्षण दिएको र एकअर्कालाई दोष थोपरेर जनतालाई मर्न बाध्य बनाएको आरोप उनीहरूको छ। ‘अब आश्वासनले पुग्दैन, हामीलाई हाम्रो साँवा र ब्याज फिर्ता चाहिन्छ, सरकारले सहकारी पीडितको पैसा फिर्ता गर्दा बैंक पीडितको निक्षेप फिर्ताको जिम्मा पनि लिनु पर्छ,’ पीडित पक्षले माग राखेका छन्।
आजको घेराउ कार्यक्रममा पीडितहरूले राष्ट्र बैंकका अधिकारीहरूलाई भेटेर तत्काल निकास निकाल्न अल्टिमेटम दिएका छन्। यदि तत्काल बचत फिर्ता गर्ने सुनिश्चितता नभएमा राष्ट्र बैंककै गेटमा सामूहिक आत्मदाह गर्ने र आन्दोलनलाई अझ उग्र बनाउने उनीहरूको चेतावनी छ।