काठमाडौं। नवलपरासीमा अवस्थित फलाम तथा स्टिलजन्य उत्पादन गर्ने उद्योग टेन स्टील्सले दोब्बरले व्यापारमा वृद्धि गरेको छ। कम्पनीले आफ्नो व्यवसायिक कार्यशैलीमा परिवर्तन गरेसँगै एक वर्षमै १०२ प्रतिशतले आम्दानीमा वृद्धि गरेको हो।
केयर रेटिङ नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०२४/२५ मा १ अर्ब ५८ करोड रुपैयाँ बराबरको कुल व्यापार (सञ्चालन आम्दानी) गरेको छ। अघिल्लो आर्थिक वर्ष २०२३/२४ मा ७८ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो। साथै कम्पनीले २०२२/२३ मा ७५ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।
कम्पनीले आफ्नो व्यावसायिक सञ्चालन र चालुपुँजी व्यवस्थापनका लागि बैंकहरूबाट उपयोग गर्ने कुल ७० करोड रुपैयाँ बराबरको ऋण सुविधाका लागि केयर रेटिङ नेपालले साख निर्धारण गरेको छ। एजेन्सीले कम्पनीको ४७ करोड २ लाख रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि सिंगल बी प्लस र २२ करोड ९८ लाख रुपैयाँको अल्पकालीन ऋणका लागि एफोर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको ऋण भुक्तानी क्षमतामा रहेको जोखिमको स्तर रहेको संकेत गर्छ।
सन् २०१८ मा स्थापना भई सन् २०२० देखि व्यावसायिक उत्पादन सुरु गरेको यो कम्पनीमा नेपालको औद्योगिक क्षेत्रमा अनुभवी प्रवर्द्धकहरूको लगानी रहेको छ। कम्पनीको सञ्चालक समिति मारुती ट्रेडर्ससँग आबद्ध व्यवसायीहरूको नेतृत्वमा रहेको छ। यसमा अनिल कुमार अग्रवाल अध्यक्ष रहेका छन्, प्रबन्ध निर्देशक र धिरज कुमार अग्रवाल सञ्चालकका रूपमा रहेका छन्। प्रवर्द्धकहरूको स्टिल तथा व्यापारिक क्षेत्रमा लामो अनुभव हुनु कम्पनीको प्रमुख सबल पक्ष रहेको प्रतिवेदनमा उल्लेख छ।
टेन स्टील्सले पछिल्लो समय आफ्नो उत्पादन इकाईलाई अस्थायी रूपमा बन्द गरेर तयारी वस्तुको व्यापार (ट्रेडिङ)मा केन्द्रित भएको छ। कच्चा पदार्थको उच्च लागतका कारण उत्पादन कार्य प्रभावित भएपछि कम्पनीले यो विकल्प रोजेको हो। ट्रेडिङमा लाग्दा व्यापारको आकार बढे पनि सञ्चालन मुनाफाको मार्जिन भने खुम्चिएको छ। कम्पनीको सञ्चालन नाफा ६.६६ प्रतिशतबाट घटेर २.८३ प्रतिशतमा झरेको छ। यद्यपि, विगतका तीन वर्ष लगातार नोक्सानीमा रहेको कम्पनीले आव २०२४/२५ मा १ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
कम्पनीको पुँजीगत संरचना ऋणमा आधारित देखिएको छ। प्रतिवेदनअनुसार कम्पनीको कुल ऋण र नेटवर्थको अनुपात ४.६६ गुणा रहेको छ। कम्पनीमा प्रवर्द्धकहरूले आव २०२४/२५ मा २ करोड ८९ लाख रुपैयाँ थप पुँजी लगानी गरेका छन्। ऋणको उपयोगतर्फ कम्पनीले बैंकहरूबाट स्वीकृत चालुपुँजी कर्जाको करिब १०० प्रतिशत नै उपयोग गरिरहेको पाइएको छ।
कम्पनीको ब्याज तिर्न सक्ने क्षमता १.७५ गुणा रहेको छ। उत्पादन कार्य बन्द भएकाले कम्पनीले स्थिर सम्पत्तिका लागि लिएको दीर्घकालीन ऋणको ब्याजलाई पुँजीकरण गरेको छ, जसले गर्दा सञ्चालन खर्चमा केही राहत देखिएको हो। यद्यपि, चालुपुँजीको उच्च उपयोगका कारण ब्याजको भार भने कायमै रहेको देखिन्छ।
कम्पनीले एमएस पाइप, एमएस शीट र सटर प्रोफाइल उत्पादन तथा बिक्री गर्दै आएको छ। यसको उद्योग नवलपरासीमा रहेको र भारतीय सीमा नजिक भएकाले कच्चा पदार्थ आयात र तयारी वस्तुको ढुवानीमा सहजता रहेको छ। नेपालमा पूर्वाधार विकास र निर्माण कार्यहरू जारी रहेकाले कम्पनीको उत्पादनको माग दीर्घकालीन रूपमा स्थिर रहने अपेक्षा गरिएको छ।
यद्यपि, कच्चा पदार्थको मूल्यमा हुने अन्तर्राष्ट्रिय उतारचढाव र डलरको विनिमय दरमा हुने फेरबदल कम्पनीका लागि मुख्य चुनौती हुन्। स्टिल क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच बजार हिस्सा जोगाउनु र नाफाको मार्जिनलाई सन्तुलनमा राख्नु कम्पनीको आगामी कार्यभार हुने रेटिङ प्रतिवेदनले औँल्याएको छ।