काठमाडौं। अथर्व टेक्सटाइलको नाममा रौतहट जिल्लाको हर्सहामा अत्याधुनिक कपडा उद्योग सञ्चालनमा आउने भएको छ। डा. शम्भु कुमार चौधरीले ८३ करोड रुपैयाँ लगानीमा अथर्व टेक्सटाइल सञ्चालनमा ल्याउन लागेको हुन्।
जसका लागि उनले कम्पनीको वित्तीय साख (क्रेडिट रेटिङ) मूल्यांकन गराएका छन्। कम्पनीको रेटिङलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले पुनः पुष्टि गरेको छ। कम्पनीले आफ्नो निर्माणाधीन आयोजनाका लागि बैंकहरूबाट लिने कुल ७१ करोड ६९ लाख रुपैयाँ बराबरको ऋण सुविधाका लागि रेटिङ गराएको हो।
इन्फोमेरिक्सले कम्पनीको ५१ करोड ६९ लाख रुपैयाँको दीर्घकालीन बैंक कर्जाका लागि बीबी माइनस र २० करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एफोर रेटिङलाई निरन्तरता दिएको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। नयाँ उद्योग (ग्रीनफिल्ड प्रोजेक्ट) भएको र अझै व्यावसायिक उत्पादन सुरु भइनसकेकाले यसलाई मध्यम जोखिमको श्रेणीमा राखिएको हो।
अथर्व टेक्सटाइल एक पूर्ण एकीकृत टेक्सटाइल उद्योग हो, जसमा धागो बुन्ने, रंगाउने र कपडा प्रशोधन युनिटहरू रहनेछन्। उद्योगले वार्षिक ३ हजार ६०० मेट्रिक टन सुती, सिन्थेटिक र मिश्रित कपडाहरू उत्पादन गर्ने लक्ष्य राखेको छ। कम्पनीको कर्पोरेट कार्यालय ललितपुरको सानेपामा रहेको छ भने कारखाना रौतहटमा छ। यो उद्योगमा डा. शम्भु कुमार चौधरी र डा. मधु जैसवालको पूर्ण सेयर लगानी (१०० प्रतिशत) रहेको छ। अध्यक्ष डा. चौधरीसँग कपडा व्यापारको ५ वर्षभन्दा लामो अनुभव छ।
परियोजनाको लागत र समयतालिकामा भने केही फेरबदल भएको छ। सुरुमा ६४ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको बजेट २८ प्रतिशतले वृद्धि भई अहिले ८२ करोड ८० लाख रुपैयाँ पुगेको छ। निर्माण कार्यमा भएको १३ महिनाको ढिलाइ र सामग्रीको मूल्य वृद्धिका कारण लागत बढ्न पुगेको प्रतिवेदनमा उल्लेख छ। सन् २०२६ को मार्च (२०८२ फागुन) सम्ममा आयोजनाको ९८ प्रतिशत वित्तीय प्रगति भइसकेको र आगामी सन् २०२६ को जुलाई (२०८३ साउन) देखि व्यावसायिक उत्पादन सुरु गर्ने कम्पनीको तयारी छ।
रणनीतिक रूपमा यो उद्योग निकै फाइदाजनक स्थानमा छ। भारतीय सीमाबाट मात्र ३६ किलोमिटरको दूरीमा कारखाना रहेकाले भारतबाट हुने कच्चा पदार्थ आयातमा ढुवानी लागत कम लाग्ने र तयारी वस्तु निर्यातमा समेत सहज हुने देखिएको छ। नेपालमा सर्टिङ, सुटिङ र निटिङ फेब्रिकको माग बढ्दो क्रममा रहेकाले बजारको सम्भावना बलियो देखिएको छ।
यद्यपि, कम्पनीका सामु केही गम्भीर चुनौतीहरू पनि छन्। लागत बढेका कारण प्रवर्द्धकहरूले थप स्वपुँजी लगानी गर्नुपर्ने दबाब छ। कच्चा पदार्थको रूपमा प्रयोग हुने कपास, धागो र रसायनहरू मुख्यतया आयात गर्नुपर्ने भएकाले डलरको विनिमय दरमा हुने उतारचढावले नाफालाई प्रभावित पार्न सक्छ। उद्योगमा ६२ प्रतिशत ऋण र ३८ प्रतिशत स्वपुँजीको लगानी संरचना रहेको छ। आगामी दिनमा समयमै उत्पादन सुरु गरी बजार विस्तार गर्न सकेमा कम्पनीको वित्तीय साखमा सुधार आउने अपेक्षा रेटिङ एजेन्सीले गरेको छ।