काठमाडौं। विशाल ग्रुपअन्तर्गतको वितरण कम्पनी युनाइटेड डिस्ट्रिब्युटर्स (नेपाल)ले एक वर्षमै १५ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२४÷२५ मा १५ अर्ब २० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीले चालू वर्षको पहिलो ६ महिनामै ७ अर्ब २२ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।
कम्पनीले अघिल्लो आव २०२३/२४ मा १४ अर्ब ७८ करोड, आव २०२२/२३ मा १३ अर्ब ६१ करोड, आव २०२१/२२ मा १३ करोड ८१ करोड र आव २०२१÷२२ मा १२ अर्ब ११ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो।
कम्पनी व्यापारिक आकारमा उल्लेख्य वृद्धि गरेसँगै इक्रा नेपालले साख रेटिङमा सुधार गरेको छ। नेपालको फास्ट मुभिङ कन्जुमर गुड्स बजारमा पकड जमाएको यो कम्पनीको मजबुत वित्तीय अवस्थालाई दृष्टिगत गर्दै इक्राले अल्पकालीन ऋणको रेटिङलाई ‘ए वान’ मा स्तरोन्नति गरेको हो।
यसअघि कम्पनीले ‘ए टु प्लस’ रेटिङ पाएको थियो। त्यस्तै, कम्पनीको दीर्घकालीन ऋणका लागि इक्राले पहिलो पटक ‘एल ए’ रेटिङ प्रदान गरेको छ।
कम्पनीमा विशाल ग्रुपका प्रवद्र्धकहरू अनुज अग्रवाल, विवेक अग्रवाल, निकुञ्ज अग्रवाल र विशाल अग्रवालको ५० प्रतिशत सेयर स्वामित्व छ भने बाँकी ५० प्रतिशत सेयर अन्य १० जना सञ्चालकको रहेको छ। सन् २००३ मा स्थापना भएको युनाइटेड डिस्ट्रिब्युटर्स नेपालका लागि पीएन्डजी, ब्रिटानिया, अमुल, एससी जोन्सन र केलोग्स जस्ता विश्वप्रसिद्ध ब्रान्रूको आयातकर्ता तथा वितरक हो।
कम्पनीले यति ठूलो मात्रामा ऋण लिनुको मुख्य उद्देश्य नेपालभर रहेका आफ्ना ४५ हजार बढी डिलर र खुद्रा विक्रेताहरूको विशाल सन्जालका लागि आवश्यक पर्ने चालू व्यवस्थापन गर्नु हो।
विश्वप्रसिद्ध ब्रान्ड आयात गरी भण्डारण र वितरण गर्न कम्पनीलाई ठूलो नगद प्रवाहको आवश्यकता पर्दछ। यसका साथै, सन् २०२५ सेप्टेम्बरको दंगाका क्रममा भएको करिब ६० करोड रुपैयाँ बराबरको मौज्दात क्षतिको शोधभर्ना र पुनः सामान भण्डारण गर्न पनि कम्पनीले ऋण उपयोग गरेको छ।
दंगाका क्रममा भएको क्षतिको बिमा दाबी भुक्तानी अझै प्रक्रियामै छ। साथै, कम्पनीले आफ्नो पुँजीको ठूलो हिस्सा २२ प्रतिशत सेयर बजार र ४१ प्रतिशत स्थिर सम्पत्तिमा लगानी गरेका कारण पनि सञ्चालन खर्चका लागि बैंक ऋणको सहारा लिने गरेको देखिन्छ।
रिपोर्टअनुसार आर्थिक वर्ष २०२४÷२५ मा कम्पनीको ब्याज तिर्न सक्ने क्षमता अर्थात् ‘इन्ट्रेस्ट कभरेज रेसियो’ ७.९ गुणा थियो भने चालू आवको पहिलो ६ महिनामा यो उल्लेख्य सुधार भएर १४ गुणा पुगेको छ।
कम्पनीले बैंकलाई १ रुपैयाँ ब्याज बुझाउनु पर्दा उसको कमाइ (सञ्चालन नाफा) १४ रुपैयाँ रहेको छ। बैंकिङ प्रणालीमा ब्याजदर घटेका कारण कम्पनीको वित्तीय खर्चमा राहत मिलेको छ। अघिल्लो वर्षमा यसको ब्याज कभरेज १६ गुणा थियो।
कम्पनीले गत वर्ष लाभांश वितरण नगरी नाफालाई व्यवसायमै राखेका कारण बैंकको ऋण घटाउन मद्दत पुगेको र यसले गर्दा ब्याजको भार अझ कम भएको इक्राको प्रतिवेदनमा उल्लेख छ।
व्यापारको आयतनसँगै कम्पनीको नाफाको अवस्था पनि उत्साहजनक छ। कम्पनीको सञ्चालन नाफा मार्जिन १० देखि ११ प्रतिशतको बीचमा स्थिर छ। प्रतिवेदनअनुसार कम्पनीको ऋण तिर्न सक्ने क्षमता निकै बलियो छ।
कम्पनीको कुल ऋण र सञ्चालन नाफाको अनुपात १.० गुणा मात्र छ, यसको अर्थ कम्पनीको एक वर्षको सञ्चालन नाफाले नै उसको सबै बैंक ऋण चुक्ता गर्न पुग्छ। कम्पनीसँग अप्रिल २०२६ सम्म १ अर्ब ६९ करोड ४० लाख रुपैयाँ बराबरको थप ऋण लिन सक्ने सीमा बाँकी छ, जसले कम्पनीको तरलता अवस्था सहज रहेको देखाउँछ।