काठमाडौं। खाद्यान्नको थोक व्यापार (होलसेल)मा सक्रिय ऋषियाना ग्लोबल ट्रेडर्स प्राइभेट लिमिटेडले ८ महिनामै सवा अर्ब बढीको व्यापार गरेको छ। कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामै १ अर्ब १८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो।
कम्पनीले आफ्नो व्यापारिक आयतन र नाफाको मार्जिनमा सुधार गरेपछि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यसको साख (रेटिङ) मा समेत स्तरोन्नति गरेको छ। कम्पनीले बैंकहरूबाट उपयोग गर्ने कुल १ अर्ब १७ करोड ५७ लाख रुपैयाँ बराबरको ऋण सुविधाका लागि नयाँ रेटिङ तय गरिएको हो। इन्फोमेरिक्सले कम्पनीको २१ करोड ५७ लाखको दीर्घकालीन ऋणका लागि यसअघिको बि प्लस रेटिङलाई सुधारेर डबल बी माइनस कायम गरेको छ। त्यस्तै, ९६ करोडको अल्पकालीन ऋणका लागि एफोर रेटिङलाई पुनः पुष्टि गरेको छ।
सन् २०२० मा स्थापना भएको ऋषियाना ग्लोबलले छोटो अवधिमै आफ्नो व्यापारलाई आक्रामक रूपमा विस्तार गरेको छ। आर्थिक वर्ष २०२४/२५ मा कम्पनीले १ अर्ब ७५ करोड रुपैयाँको व्यापार गरेको थियो, जुन अघिल्लो वर्षको १ अर्ब ४७ करोडको तुलनामा १९ प्रतिशतको वृद्धि हो। कम्पनीले पछिल्लो समय स्थानीय बजारबाट सामान खरिद गर्नुको साटो विदेशबाट सस्तो मूल्यमा आयात गर्ने नीति लिएपछि व्यापार र नाफा दुवैमा सकारात्मक प्रभाव परेको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीको कुल व्यापारमा चामल र तेलको हिस्सा मात्रै करिब ८८ प्रतिशत रहेको छ। नेपाली भान्छाका लागि अत्यावश्यक वस्तुको व्यापार गर्ने भएकाले यसको बजार माग सधैँ स्थिर रहने देखिन्छ। काठमाडौँको चोभारमा कम्पनीका आफ्नै चारवटा गोदामहरू रहेका छन्, जसको भण्डारण क्षमता करिब २०० मिलियन रुपैयाँ बराबरको रहेको छ।
कम्पनीको व्यापार बढेसँगै सञ्चालन नाफामा पनि उल्लेख्य सुधार आएको छ। आव २०२३/२४ मा १.८५ प्रतिशत मात्र रहेको यस्तो नाफा २०२४/२५ मा ५.५५ प्रतिशत र चालू आवको ८ महिनामा ६.९० प्रतिशत पुगेको छ। यद्यपि, उच्च ऋणका कारण बैंकको ब्याज खर्च बढ्दा खुद नाफा भने ०.१९ प्रतिशतमा खुम्चिएको छ।
कम्पनीको पुँजीगत संरचना केही कमजोर देखिएको छ। ऋण र स्वपुँजीको अनुपात ३.४६ गुणा रहेको छ, जसको अर्थ पुँजीको तुलनामा ऋणको भार बढी छ। कम्पनीको ब्याज तिर्न सक्ने क्षमता १.०६ गुणा र ऋण सेवा कभरेज अनुपात १.०४ गुणा रहेको छ, जसले ऋण तिर्ने क्षमता औसत रहेको बुझाउँछ।
कम्पनीको अध्यक्ष युद्धबहादुर चौहानको ५४.४३ प्रतिशत सेयर स्वामित्व छ भने नबेन्दु कुमार गुप्ताको २३.१० प्रतिशत र सुप्रिया गैरेको २२.४७ प्रतिशत सेयर रहेको छ। अध्यक्ष चौहानसँग आयात र व्यापार क्षेत्रमा एक दशकभन्दा लामो अनुभव छ भने गुप्ता दुई दशकदेखि यही क्षेत्रमा सक्रिय छन्।
कम्पनीका लागि खाद्यान्न जस्तो अत्यावश्यक वस्तुको स्थिर माग प्रमुख अवसर हो। चोभारमा रहेको गोदाम र भारतसँगको व्यापारिक सहजताले यसलाई थप लाभ दिएको छ। बजारमा रहेका धेरै साना र ठूला प्रतिस्पर्धीहरूका बीच आफ्नो हिस्सा जोगाइराख्नु र चालुपुँजीको प्रभावकारी व्यवस्थापन गर्नु कम्पनीको मुख्य चुनौती हो। कम्पनीको ३० प्रतिशत पुँजी बजारको उधारो र मौज्दातमा अड्किएको छ। आगामी दिनमा उधारो असुलीलाई छिटो छरितो बनाउँदै ऋणको भार कम गर्न सकेमा कम्पनीको वित्तीय साख अझ मजबुत हुने रेटिङ एजेन्सीको ठम्याइ छ।