काठमाडौं। इनर्जी ड्रिंक्समा आत्मनिर्भर बन्ने बाटोमा लागिरहेको बेला सरकारले ७ वर्षदेखि रोकिएको आयात खुलाउने तयारी थालेको छ। हाल नेपालमा ८ वटाभन्दा बढी इनर्जी ड्रिंक्सको उद्योग सञ्चालन भइरहेको बेला सरकारले आयात खुलाउने तयारी स्वरुप आर्थिक वर्ष २०८३/८४ को बजेटमा करको भार अत्याधिक बढाएको हो।
बजेटमा समावेश भएको नयाँ कर अनुसार अब एक लिटर इनर्जी ड्रिंक्समा १२० रुपैयाँ अन्तःशुल्क लाग्ने भएको हो। यसअघि ५२ रुपैयाँ मात्र लाग्दै आएको थियो। यसरी हेर्दा एक लिटर इनर्जी ड्रिंक्समै ६८ रुपैयाँ थप कर लाग्ने भएको हो।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७६ सालबाट नेपालमा इनर्जी ड्रिंक्सको आयात पूर्ण रुपमा रोक लगाएका थिए। नेपालभित्रै इनर्जी ड्रिंक्सको उद्योग सञ्चालन गर्ने र विलासिता वस्तुभित्र इनर्जी ड्रिंक्स पर्ने भएकोले आयातमा रोक लगाउने निर्णय त्यो बेला भएको थियो।
‘अहिलेको यो बजेटमा इनर्जी ड्रिंक्समा लाग्दै आएको अन्तःशुल्क बढाएर १२० रुपैयाँ पुर्याउनु नै आयात खुलाउने सरकारी तयारी हो,’ एक इनर्जी ड्रिंक्स उत्पादकले क्यापिटल नेपालसँग भने, ‘आत्मनिर्भरतर्फ लागेको बेला कर बढाएर महँगो बनाउने र विदेशबाट आयात गर्ने बाटोमो लागेको देखिन्छ।’
तत्कालीन अर्थमन्त्री खतिवडाको निर्णयसँगै विश्वव्यापी रुपमा बिक्री हुँदै आएको रेडबुलले नेपालमै उद्योग स्थापना गरेको थियो। आयात प्रतिबन्ध गर्नुअघि नेपालमा आक्रामक रुपमा रेडबुलको व्यापार भइरहेको थियो। त्योसँगै अन्य इनर्जी ड्रिंक्सको पनि व्यापार राम्रो भइरहेको बेला तत्कालीन अर्थमन्त्री खतिवडाले आयातमा रोक लगाएपछि खेतान समूहको लगानीमा २ अर्बभन्दा बढी लगानीमा २०८० सालबाट रेडबुल नेपालमै उत्पादन सुरु भएको थियो।
त्योसँगै अहिले बजारमा आक्रामक रुपमा एक्स्ट्रिम इनर्जीले आफ्नो उत्पादनसँग बजार व्यवस्थापनलाई पनि व्यापाक बनाइरहेको छ। पछिल्लो समय एकपछि अर्को इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्री भइरहेको बेला अन्तःशुल्क बढाएर मूल्य वृद्धि गराएको आरोप व्यवसायीहरुको छ।
अहिले नेपालमा अर्बौं रुपैयाँ लगानी गरेर इनर्जी ड्रिंक्स उत्पादन भइरहेको छ। जसमा सिंगापुर वेभरेज, एग्रो थाइफुड्स, सरस वेभरेज, साउथ एसिएन वेभरेज, सूर्य फुड एन्ड वेभरेज, सीजी फुड्स नेपाल, तेजसु प्रा.लि., क्रिस्टल वेभरेज, सुन्दर वेभरेजलगायतले लगानी विस्तार गरिरहेको छ।
आत्मनिर्भरतर्फ अघि बढेको इनर्जी ड्रिंक्सको बजारमा आयात खुलाउने तयारीबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीसँग जानकारी लिन खोज्दा उनको फोन उठेन।