कास्की।छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन प्रतियोगिताको महिलातर्फको उपाधि जुम्लाकी मञ्जु रावतले चुमेकी छन्।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आयोजित उक्त प्रतिस्पर्धामा जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ जियाकी २५ वर्षीया धाविका रावतले अन्नपूर्ण आधारशिविरदेखि घान्द्रुकसम्मको ४२.१९ किमि दूरी ६ घन्टा १४ मिनेट १९ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरिन्।
यसैगरी जुम्लाको गुठीचौरकी २१ वर्षीया धाविका राज्यलक्ष्मी रावलले सो दूरी ६ घन्टा ५० मिनेट २५ सेकेन्डमा पूरा गरेर दोस्रो स्थान प्राप्त गरिन् भने सोही जिल्लाको पातारासी गाउँपालिका–२ की १९ वर्षीया धाविका कल्पना बुढाले सो दूरी ७ घन्टा २० मिनेट ५६ सेकेन्डमा पूरा गरेर तेस्रो स्थान प्राप्त गरिन्।
अन्नपूर्ण हिमाल आरोहण दिवस अवसरमा हरेक जुन ३ तारिखमा आयोजना हुने सो प्रतियोगिताअन्तर्गत माछापुच्छ्रे आधारशिविर, बगर देउराली, हिङ्कुकेभ, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोन, चुइले, मेलाचे, कोभ्रेडाँडा, किभ्रुङ खोला, उरी हुँदै घान्द्रुकसम्मको दूरी पार गर्नुपर्छ।
यसैगरी, प्रतियोगिताको पुरुषतर्फको उपाधि जुम्लाकै तातोपानी–७ सर्मीका धावक दलबहादुर कुँवरले चार घन्टा चार मिनेट १० सेकेन्डमा पूरा गरेर उपाधि जिते। प्रतियोगितामा तिलक बुढामगरले सो दूरी चार घन्टा १० मिनेट आठ सेकेन्डमा पूरा गरेर दोस्रो स्थान प्राप्त गरे। उनी गत वर्षका विजेता हुन्। सचिन गुरुङले चार घन्टा ४९ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेर तेस्रो स्थान प्राप्त गरे।
महिलातर्फ दुई विदेशीसहित ५१ तथा पुरुषतर्फ पाँच विदेशीसहित ५८ धावकले म्याराथनमा भाग लिएका थिए । महिला तथा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख विक्रम गुरुङ र अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं प्रतियोगिताका संयोजक ललित गुरुङलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गरे। २०७५ देखि अन्नपूर्ण आरोहण दिवस अवसरमा उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ।–रासस