काठमाडौं। भाारतले नयाँ दिल्ली भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रेडकार्पेटसहितको न्यानो स्वागत गरेको सर्वत्र चर्चा भइरहे पनि नेपाली उत्पादनको बजारलाई अड्को थाप्ने क्रम भने रोकिएको छैन।
गत आइतबार पाँचदिने दिल्ली भ्रमणमा गएका लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकरलगायतका पदाधिकारीसँग लगातार भेट गरे।
लामिछानेले भारतीय प्रधानमन्त्री मोदी र अन्य नेताहरुसँगको भेटपछि सामाजिक सन्जालमा लेख्दै नेपाल र भारतबीच विगतका कठिनाइ नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउनेबारे छलफल भएको बताएका छन्। डिजिटल करिडोर र सहज कनेक्टिभिटीमा केन्द्रित भएर मात्र प्रगति र आपसी विश्वासले परिभाषित गर्दा साझेदारी वास्तविक हुने उनको धारणा थियो।
तर, लामिछानेले नेपालको चिया निर्यातमा हुँदै अवरोध, सीमा विवाद समाधानको अपेक्षा, आर्थिक सहयोग, सामाजिक विषयका कुरा भारतीय पक्षसँग राखेको देखिएन।
९० प्रतिशत भारतीय निर्यातमा चेपिएको नेपालले आफ्ना उत्पादन उता पठाउँदा सधैंको सास्ती बेहोर्दै आएको छ। यसरबारे रवि बोलेनन्। अहिले पनि नेपाली उत्पादनलाई भारत प्रवेशमा दैनिक अवरोध गरिँदै आएको छ।
वैशाख १८ देखि टी बोर्ड अफ इन्डिया (टीआईबी)ले नेपालबाट भारत जाने चियाको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अनुसार अनिवार्य प्रयोगशाला परीक्षणको प्रतिवेदनको व्यवस्था गरेसँगै २१ दिन चिया निकासी ठप्प भएको थियो।
तीन साताको निकासी अवरोधपछि भारतीय चिया बोर्डले भारतमा आन्तरिक बिक्रीका लागि आयात गरिने चियाका कन्साइनमेन्टमा ‘¥यान्डम’ मात्र परीक्षण हुने र नेपालबाट भारतमा उपभोगका लागि जाने चियामा नियमित र हरेक ट्रकपिच्छे परीक्षण नगरी र्यान्डम स्याम्पलिङ मात्र हुने व्यवस्था गरेपछि अवरुद्ध निकासी पुनः थालिएको थियो।
लामिछानेले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि सामाजिक सन्जालमा लेख्दै नेपाल र भारतबीच विगतका कठिनाइ नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउनेबारे छलफल भएको बताएका छन्। तर, उनले नेपालको चिया निर्यातमा हुँदै अवरोध, सीमा विवाद समाधानको अपेक्षा भारतीय पक्षसँग राखेको देखिएन।
भारतमा चिया निकासी २१ दिनपछि खुले पनि विगत एक सातादेखि कुनै पनि व्यवसायीले चिया निकासी लागि फाराम पेस गरेका छैनन्। भारतको चिया बोर्डको पछिल्लो प्रावधानपछि केही ट्रक चिया भारत निकासी भयो।
तर, भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर गुणस्तर परीक्षणका नाममा हरेक बोराबाट नमुना निकालेर प्रयोगशाला लैजाने र परीक्षणको रिपोर्ट नआएसम्म बिक्री नगर्न आदेश दिएपछि सातादेखि निकासी रोकिएको व्यवसायीले बताएका छन्।
भारतीय चिया बोर्डले नेपालबाट जाने चियाको नयाँ ‘एसओपी’ अनुसार अनिवार्य प्रयोगशाला परीक्षणबाट पछि हटेर पुरानै प्रावधानबाट परीक्षण गर्ने लिखित पत्र पठाएपछि निकासी सुचारु भएको थियो। तर, अहिले फेरि शतप्रतिशत परीक्षणको प्रावधान राखेपछि निकासी प्रभावित भएको नेपाल चिया उत्पादक संघ अध्यक्ष आदित्य पराजुलीले बताए।
‘भारतको पानीट्यांकी भन्सार र चिया बोर्डमा समस्या छैन। यहाँबाट बाहिरिएको नेपाली चिया आयातकर्ताको गोदाममा पुग्नेबित्तिकै हरेक बोराको गुणस्तर परीक्षणका नाममा नमुना संकलन गर्ने र रिपोर्ट नआएसम्म बिक्री नगर्न आदेश जारी गरेपछि व्यवसायीले निकासी नै बन्द गरेका छन्,’ पराजुलीले भने।
भारतको कोलकाता पुगेका आधा दर्जनभन्दा बढी नेपाली चिया बोकेका गाडीबाट नमुना संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाइएको एक साता बित्दा पनि रिपोर्ट आएको छैन। रिपोर्ट नआएसम्म गोदामबाट बाहिर ननिकाल्न आदेश दिइएको छ। १० दिनदेखि ६ वटा ट्रक चिया परीक्षणको पर्खाइमा छन्, दुईवटाको मात्र ल्याब रिपोर्ट आएको छ, अन्यको नमुना नै संकलन भएको छैन। करिब ५० हजार किलो चिया कोलकातामा रोकिएको छ,’ उनले भने।
यसअघि भारतीय चिया बोर्डले भारतीय आयातकर्ताहरूले चिया भारत आइपुग्नुभन्दा अगावै ‘टी काउन्सिल’ को पोर्टलमा चिया आउने मिति, गोदामको स्थान, कन्टेनरको विवरण र प्रोफोर्मा इन्भ्वाइससहितको विस्तृत विवरण बुझाउनुपर्ने र त्यसपछि मात्र उनीहरूले ‘प्रोभिजनल क्लियरेन्स सर्टिफिकेट’ पाउने व्यवस्था गरेपछि नेपाली चिया किसान र व्यवसायी मारमा परेका थिए ।
यसबारे दिल्लीस्थित नेपाली दूतावासमार्फत रास्वपा सभापतिसँग कुरा उठाइदिन आग्रह गर्दै नेपाली चिया निकासीमा भारतले गर्दै आएको गैरभन्सार अवरोध सधैँका लागि अन्त्य गर्न माग गरिएको उनको भनाइ छ।
नेपालमा वार्षिक करिब दुई करोड ६० लाख किलो चिया उत्पादन हुने सरकारी तथ्यांक छ। त्यसमध्ये करिब ९० प्रतिशत अर्थोडक्स चिया निर्यात हुने गरेको छ भने निर्यातको ८० देखि ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर छ।