काठमाडौं। निर्वाचन आयोगले गत फागुन २१ म सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला आयोजना गरेको छ। आयोगले बागमतीबाहेकका प्रदेशस्तरमा समीक्षा सम्पन्न गरिसकेपछि केन्द्रीयस्तरमा आज काठमाडौंमा समीक्षा कार्यशाला आयोजना गरेको हो।
कार्यशालाको तत्कालीन प्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संयुक्त रूपमा उद्घाटन गरे।
कार्यक्रममा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताइन्। ‘निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आएका छन्। जनताले दिएको मतको सम्मान गर्दै उनीहरुलाई काम गर्न दिनुपर्छ’, पूर्वप्रधानमन्त्री कार्कीले भनिन्।
उनले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चारकर्मीलगायतका भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरिन्।
पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम अवस्थामा सरकार, आयोग र सरोकारवालाको सहयोगमा कुनै हिंसात्मक घटनाबिना निर्वाचन सम्पन्न भएको बताए।
पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको विद्रोहको भावनाअनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई मुलुकका स्थायित्व कायम हुनुपर्नेमा जोड दिए।
कार्यवाहक प्रमुख आयुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विद्रोहपछि तोकिएको ६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा नभएको बताए।
कार्यवाहक आयुक्त भण्डारीले आन्दोलनबाट भड्किएको अनुशासनलाई कायम राख्न निर्वाचनबाहेक अर्काे विकल्प नभएकाले चुनौतीका बीच निर्वाचन गराउन आफूहरू अहोरात्र लागेको स्मरण गर्दै निर्वाचन मितव्ययी र तुलनात्मक व्यवस्थित भएको दाबी गरे।
कार्यक्रममा आयोगका आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा, संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजीतिक दलका प्रतिनिधि, सरकारका उच्चाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, निर्वाचन पर्यवेक्षक, निर्वाचनमा खटिएका निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत सहभागी छन्।