काठमाडौं। क्वेस्ट फर्मास्युटिकल्सले ६ महिनामा सवा अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। नेपालको औषधि उत्पादन क्षेत्रमा अग्रणी स्थानमा रहेको कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा १ अर्ब ३७ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो। कम्पनीले गत वर्षमा २ अर्ब ९० करोड र अघिल्लो आवमा २ अर्ब ८५ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो।
बलियो वित्तीय अवस्था र बजार पकडलाई मध्यनजर गर्दै क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीले उपयोग गरिरहेको कुल १ अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको बैंकिङ ऋण रेटिङलाई पुनः पुष्टी गरेको छ।
इक्राले कम्पनीको ८० करोड २० लाख रुपैयाँको दीर्घकालीन ऋणका लागि ‘एलए माइनस’ र ७३ करोड रुपैयाँको अल्पकालीन ऋणका लागि ‘ए टु प्लस’ रेटिङलाई निरन्तरता दिएको हो। यी रेटिङको अर्थ कम्पनीसँग आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता छ। यसमा लगानी गर्नु न्यून कर्जा जोखिमको श्रेणीमा पर्दछ भन्ने बुझिन्छ। कम्पनीको न्यून ऋण भार र उच्च नाफाका कारण यो उच्च रेटिङ दिइएको हो।
अघिल्लो वर्ष २२ प्रतिशत रहेको सञ्चालन नाफाको मार्जिन चालू आवको ६ महिनामा २०.९ प्रतिशत रहेको छ। महँगो कच्चा पदार्थ र चर्को बजार प्रतिस्पर्धाका बाबजुद कम्पनीले २० प्रतिशतभन्दा माथिको सञ्चालन मुनाफा कायम राख्नुलाई वित्तीय रूपमा निकै सबल मानिन्छ।
कम्पनीको सबैभन्दा बलियो पक्ष यसको ऋण तथा ब्याज भुक्तानी गर्न सक्ने क्षमता हो। चालू आर्थिक वर्षको ६ महिनामा ब्याज कभरेज अनुपात १३.१ गुणा रहेको छ। यसको अर्थ, कम्पनीले बैंकलाई १ रुपैयाँ ब्याज बुझाउनु पर्दा उसको कमाई १३ रुपैयाँभन्दा बढी छ। अघिल्लो वर्ष यो १५ गुणा थियो।
यस्तै, कम्पनीको सावाँ र ब्याज दुवै तिर्न सक्ने क्षमता बुझाउने ऋण सेवा कभरेज अनुपात ४.९ गुणा छ। १ भन्दा माथिको अनुपातलाई राम्रो मानिने भए पनि ४.९ गुणा हुनुले कम्पनी ऋण तिर्न अत्यन्तै सुरक्षित अवस्थामा रहेको पुष्टी गर्छ।
कच्चा पदार्थमा शतप्रतिशत आयातमा निर्भर रहनुपर्ने र डलरको भाउमा हुने फेरबदलले लागत बढाउन सक्ने जोखिम कायमै छ।
क्वेस्ट फर्मास्युटिकल्सले बैंकको ऋणमा निकै कम भर परेर आफ्नै पुँजीबाट व्यवसाय सञ्चालन गरिरहेको छ। कम्पनीको कुल ऋण र नेटवर्थको अनुपात मात्र ०.२ गुणा छ। यसको अर्थ कम्पनीमा सञ्चालकको १ रुपैयाँ लगानी हुँदा बैंकको ऋण मात्र २० पैसा छ।
यस्तो न्यून ऋण भारले कम्पनीलाई भविष्यमा थप विस्तारका लागि बैंकबाट सहजै ऋण पाउने आधार दिन्छ। यद्यपि, कम्पनीको व्यापारको २८ प्रतिशत रकम उधारो र मौज्दातमा अड्किएको छ। अघिल्लो वर्ष यो ३० प्रतिशत थियो। जसमा अहिले केही सुधार आएको छ।
सन् २००१ देखि सञ्चालनमा आएको क्वेस्ट फर्मास्युटिकल्सले मुख्यतया मुटु रोग र मधुमेहसँग सम्बन्धित औषधि उत्पादनमा आफ्नो पकड जमाएको छ। कम्पनीको कुल आम्दानीमा यो क्षेत्रको मात्रै ५६ प्रतिशत हिस्सा रहेको छ। प्रतिवेदनअनुसार नेपालको औषधि बजार वार्षिक १० देखि १५ प्रतिशतको दरले बढिरहेको र क्वेस्टले ‘क्रोनिक डिजिज’ क्षेत्रमा ध्यान केन्द्रित गरेकाले यसको व्यापारिक भविष्य सुरक्षित देखिन्छ।
कम्पनीमा १५ जना व्यक्तिगत लगानीकर्ताहरूको सेयर रहेको छ। जसमा कम्पनीको नेतृत्वमा रहेका उमेशलाल श्रेष्ठ, पृथ्वीराज भण्डारी, उत्तमकुमार श्रेष्ठ र शैलेन्द्रप्रसाद बर्माले गरिरहेका छन्। यी चार प्रवद्र्धकहरूको कम्पनीमा करिब ४५ प्रतिशत सेयर स्वामित्व छ।
कम्पनीसँग देशभर दुई वटा ठूला ‘सुपर डिस्ट्रिब्युटर’मार्फत बलियो वितरण सञ्जाल छ। यद्यपि, कच्चा पदार्थमा शतप्रतिशत आयातमा निर्भर रहनुपर्ने र डलरको भाउमा हुने फेरबदलले लागत बढाउन सक्ने जोखिम कायमै छ।
यस्तै, सन् २०२६ नोभेम्बरदेखि नेपाल अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने क्रममा रहेकाले केही औषधिहरूको ‘पेटेन्ट’ शुल्क तिर्नुपर्ने हुन सक्छ। जसले नाफामा सामान्य असर पार्न सक्ने इक्राको विश्लेषण छ।