काठमाडैं। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कृत्रिम बुद्धिमत्ता ९एआई० र सूचना प्रविधि नेपालको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा डिजिटल रूपान्तरणका प्रमुख आधार बन्न सक्ने बताएका छन्।
कास्कीको पोखरामा सूचना प्रविधिमा आधारित कम्पनी ‘टेक पाइला’को उद्घाटन गर्दै मल्लले विश्व तीव्र गतिमा एआई केन्द्रित अर्थतन्त्रतर्फ अघि बढिरहेको अवस्थामा नेपालले पनि समयमै आवश्यक पूर्वाधार, अनुसन्धान, दक्ष जनशक्ति उत्पादन र नीतिगत सहयोगमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
उनले नेपालसँग युवा जनशक्ति, प्रतिभा र सम्भावना प्रशस्त रहेको उल्लेख गर्दै सही नीति र लगानीमार्फत सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन सकिने धारणा व्यक्त गरे।
“यदि नेपालले एआई पूर्वाधार, अनुसन्धान, दक्ष जनशक्ति र नीतिगत समर्थनमा पर्याप्त लगानी गर्न सक्यो भने एआई आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा डिजिटल नेपालको निर्माणको प्रमुख आधार बन्न सक्छ,” मल्लले भने, “एआई केवल प्रविधि मात्र होइन, भविष्यको अवसर हो।”
उनले एआई कम्प्युट केन्द्र स्थापना गर्न सके विद्यार्थी, शिक्षक, एआई प्रशिक्षक, अनुसन्धानकर्ता तथा स्टार्टअप उद्यमीहरूलाई विश्वस्तरीय प्रविधि र स्रोतसाधनमा पहुँच उपलब्ध गराउन सकिने बताए। यस्तो केन्द्रले नेपालमा एआई अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो।
उनले बढ्दो युवा विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै कक्षा १२ को अध्ययनपछि नेपाली युवालाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।
मल्लले सूचना प्रविधि उद्योग, शैक्षिक संस्था र निजी क्षेत्रबीच सहकार्य बढाएर युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए।
नेपालले एआई, डाटा विज्ञान, सफ्टवेयर विकास, डिजिटल सेवा र प्रविधिमूलक उद्यमशीलतामा केन्द्रित रणनीति अपनाउन सके निकट भविष्यमा दक्षिण एशियाकै महत्वपूर्ण डिजिटल गन्तव्यका रूपमा स्थापित हुन सक्ने मल्लको भनाइ थियो।