काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस. जयशंकरबीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ। खनाल समकक्षी जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा छन्। नेपाल–भारत द्विपक्षीय सम्बन्धको सबै आयाममा व्यापक छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका अनुसार छलफलमा व्यापार र आर्थिक सहयोग, सीमापार सम्पर्क, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुदमार्फत जनता–जनता सम्बन्धको प्रवर्द्धनजस्ता विषय समेटिएका छन्।
दुवै पक्षले दुई छिमेकी देशबीचको दिगो साझेदारीलाई सुदृढ पार्ने प्रतिबद्धतालाई पुनः दोहोर्याएका छन्। बहुपक्षीय मञ्चमा हुने सहयोगसहित पारस्परिक चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
‘दुई पक्ष विकास साझेदारी, वृद्धि गरिएको सम्पर्क र पारस्परिक लाभका प्राथमिकताका क्षेत्रमा बलियो साझेदारीमार्फत द्विपक्षीय सम्बन्धलाई अझ गहिरो र फराकिलो बनाउन सहमत भए,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा तीनबुँदे संयुक्त घोषणा गरिएको छ।
जुन २०२३ मा एनसीएचएल र एनपीसीआईबीच हस्ताक्षर भएको समझदारीपत्रअन्तर्गत क्रस बोर्डर भुक्तानी लेनदेनको सञ्चालन, भारतको विकास सहयोगमा निर्मित नेपालमा भूकम्पपछिको ७२ वटा स्वास्थ्य क्षेत्र र १२ वटा सांस्कृतिक क्षेत्रको पुनर्निर्माण परियोजना हस्तान्तरण र ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका निम्ति राष्ट्रिय डिजिटल पूर्वाधारको सहनिर्माणका लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको डिजिटल सार्वजनिक पूर्वाधार र कृत्रिम बुद्धिमत्ता केन्द्र र डिजिटल भारत भाशिनी डिभिजनबीच समझदारीपत्र आदानप्रदान रहेका छन्।
भारतीय विदेशमन्त्री जयशंकरले विकास सहयोग, कनेक्टिभिटी, ऊर्जा, विशेष गरी जलविद्युत् विकास, शिक्षा, स्वास्थ्य, क्यापासिटी बिल्डिङ, डिजिटल, संस्कृति र खेलकुदलगायत नेपाल–भारत साझेदारीबारे विस्तृत छलफल भएको बताएका थिए।
