काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र प्रवर्द्धनमा सरकारले विशेष प्राथमिकता दिएको बताएका छन्।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको विकास, विस्तार र निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सबै प्रकारको सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
छलफलका क्रममा संघले राखेको मागअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका छन्। काउन्सिल गठन भएपछि स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाकको उत्पादन तथा निर्यात प्रवर्द्धन र आयात व्यवस्थापन प्रभावकारी हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहले निजी क्षेत्रका रुग्ण तयारी पोसाक उद्योगहरू पुनः सञ्चालनमा ल्याउन उद्योग मन्त्रालयलाई आवश्यक पहल गर्न पनि निर्देशन दिएका छन्।
साथै, निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) आकर्षित गर्ने प्रक्रिया अघि बढाउन तथा अमेरिकामा नेपाली तयारी पोसाक निर्यातमा देखिएको ‘टेस्टिङ सर्टिफिकेसन’ अभावको समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयलाई आवश्यक पहल गर्न निर्देशन दिएका छन्।
उनले ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ अवधारणालाई सफल बनाउन आवश्यक दक्ष जनशक्ति उत्पादनमा सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
छलफलमा संघका पदाधिकारीहरूले सरकारको नीति तथा कार्यक्रममा समावेश भए पनि ‘ग्रिन गार्मेन्ट भिलेज’ निर्माणका लागि बजेट विनियोजन नभएको गुनासो गरेका थिए। त्यसप्रति प्रधानमन्त्री शाहले उपयुक्त स्थानमा जग्गा पहिचान गर्न आग्रह गर्दै आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिए।
प्रधानमन्त्री शाहले नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा रूपान्तरण गर्न तयारी पोसाक उद्योगको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उद्योगले भोगिरहेका सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। तयारी पोसाक उद्योगका लागि आवश्यक कच्चा पदार्थ र अन्य सामग्रीको उत्पादन नेपालमै गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।
छलफलमा नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झासहितका पदाधिकारीको सहभागिता रहेको थियो।