काठमाडौं । असार १ गतेदेखी सपिङ मलहरु खुल्ला गर्ने व्यवसायीहरुले निर्णय गरेका छन् । सरकारले सपिङ मलहरु अहिलेनै नखुलाउने निर्णय गरेको भएपनि व्यवसायीहरुले भने आफूहरु समस्यामा परेको भन्दै खोल्ने निर्णय गरेको हो ।
शुक्रबार काठमाडौंमा बसेको विभिन्न १२ वटा सपिङ मलका व्यवसायी संगठनको बैठकले व्यवसाय खोल्ने निर्णय गरेको विज्ञप्ती मार्फत जानकारी दिएको छ । बिज्ञप्तीमा व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा मास्क, स्यानिटाइजरलगायत सुरक्षाकासाधनहरु प्रयोग गरी उच्च सुरक्षा सतर्कता अपनाइने जनाइएको छ ।
बैठकमा पिपुल्स प्लाजा व्यापार संघ, सिटी सेन्टर व्यापार संघ, ताम्राकार कम्प्लेक्स व्यापार संघ, सिभिल मल व्यापार संघ, संचयकोष भवन, आईप्लेक्स कम्प्लेक्स, आर बि कम्प्लेक्स व्यापार संघ, केएल टावर व्यापार संघ, रञ्जना मल व्यापार संघ, लबिम मल, बिशाल बजार व्यापार संघ र बिजि मलका व्यवसायीक संगठनहरु सहभागी थिए ।
उनीहरुले संयुक्त बिज्ञप्ती जारी गरेर लकडाउन लम्बिदै जादा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई कर समेत तिर्न नसक्ने अवस्थामा सिर्जना भएकोले व्यवसाय खोल्नुको विकल्प नरहेको बताएको छ ।
