काठमाडौं। विश्वभर स्वास्थ्यकेन्द्रित पर्यटन आकर्षण बढिरहेका बेला नेपालका पाँचतारे होटल पनि आरोग्य पर्यटन अभियानमा जोडिएका छन्। होटल संघ नेपालको अगुवाइमा तारे होटलका मेन्यूमा आरोग्य भोजन समेट्ने तयारी थालिएको हो। यसलाई नेपालको पर्यटन क्षेत्रका लागि नयाँ अवसरका रूपमा हेरिएको छ।
नेपाल सरकारले सन् २०२७ लाई ‘आरोग्य वर्ष’ घोषणा गरेसँगै पाँचतारे होटलहरूले आफ्नो मेन्यूमा आरोग्य भोजन समावेश गर्ने तयारी थालिएको हो। आरोग्य पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित होटल उद्योगले आयुर्वेद, नेपाली खाद्य संस्कृति र आधुनिक पोषण विज्ञानमा आधारित विशेष परिकार विकास गर्ने अभियान अघि बढाएको संघका अध्यक्ष विनायक शाहको भनाइ छ।
पछिल्लो समय नेपालमा ध्यान गर्न र योगका लागी आउने पर्यटकहरुको संख्या बढिरहेको बेला सरकारले त्यसलाई ध्यानमा राखेर आरोग्य वर्ष मनाउने घोषणा गरेको हो।
अब पाँचतारे होटलका मेन्यूमा केवल विदेशी परिकार मात्र होइन, शरीर र मन दुवैलाई सन्तुलित राख्ने ‘आरोग्य भोजन’ले पनि स्थान पाउने भएको अध्यक्ष शाहको भनाइ छ। ‘तारे होटलमा बस्ने पर्यटकहरुले आफ्नो खाजा र खानाको मेन्यूमा आरोग्य परिकार छनोट गरेर खान पाउने छन्,’ अध्यक्ष शाहले भने, ‘यो नेपालको पर्यटनका लागि निकै राम्रो विषय हो।’
होटल संघ नेपालको अगुवाइमा तारे होटलका मेन्यूमा आरोग्य भोजन समेट्ने तयारी थालिएको हो।
अध्यक्ष शाहले तारे होटलहरूमा कार्यरत सेफलाई आरोग्य खानाको महत्त्व, तयारी प्रक्रिया, पोषण पक्ष तथा होटलको नियमित मेनुमा यसको समावेशीकरणसम्बन्धी व्यावहारिक ज्ञान उपलब्ध गराइसकेकोसमेत उनले बताए।
आहार र विहारमा आधारित भई समय, ऋतु, नेपाली संस्कृति, जीवनशैली तथा पौष्टिक तत्त्वको विश्लेषण गरी आयुर्वेद र आधुनिक शरीर विज्ञानको समन्वयमा आगामी दिनमा थप परिस्कृत, विशिष्टीकृत तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी आरोग्य खानाको विकास र विस्तार गरिने लक्ष्य लिइएको छ।
होटल संघ नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठका अनुसार पाँचतारे होटलमा जसरी नेपाली खाना अनिवार्य जस्तै गरिएको छ, अब आरोग्य खाना पनि त्यसैगरी राख्ने गरी सहमति भएको छ।
‘नेपालको मौलिक खानाको रुपमा जसरी दालभात र खाजाको रुपमा सेलरोटी अहिले पाँचतारे होटलमा पाकिरहेको छ, त्यसैगरी अव आरोग्य खाना पनि पाक्नेछ,’ कोषाध्यक्ष श्रेष्ठले भने, ‘यसले पर्यटकले स्वास्थ्यबर्दक खाना पाउने र अर्कोतर्फ किसानले समेत प्रत्यक्ष रुपमा फाइदा लिनेछन्।’
यसबाट आरोग्य पर्यटनका लागि नेपाल आउने पर्यटक संख्या, बसाइँ अवधि तथा खर्चमा गुणात्मक वृद्धि भई समग्र पर्यटन उद्योगलाई सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। आरोग्य भोजनमा कोदो, मकै, गहुँ, जहुँ, फापरको पिठोबाट बनेका परिकार, मासको दाल, गहत, सिस्नुको दाल, लसुन, विभिन्न दाललगायत परिकार तयार हुन्छ।