काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफूले संसदमा नेपालले भारतको सीमा मिचेको शब्दबारे स्पष्टीकरण दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाविधेशनमा सम्बोधन गर्दै उनले आफूले बोकेको राष्ट्रियताप्रति शंका नगर्न आग्रह गरे। ‘हामीले सीमाको विषयमा बोल्दा उहाँहरुले पनि आफ्नो आपत्ति जनाउनुभयो। मलाई अचम्म लाग्यो। तपाईंहरुसँग प्रमाण छ भने ल्याउनुस, हामीसित त प्रमाण छ। कालापानी लिपुलेकको प्रमाण छ। ब्रिटिशले राज गर्दा कालापानी लिपुलेकको त्यो प्रमाण ल्याउँछौं भनेका हौं,' उनले भने, 'ब्रिटिशलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौं। हामी हाम्रो छिमेकीसित आफैं कुरा गरेर मिलाउँछौं। हामीसित प्रमाण छ र हामी ल्याउँछौं। त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन। मेरो राष्ट्रियतामा कुनै पनि आशंका गर्नु पर्दैन।’
यस्तै, उनले सम्बोधनका क्रममा आफूहरूलाई सल्लाह सुझाव दिएका नेताहरूप्रति केही व्यांग्य गर्न भ्याए। उनले सरकारलाई एक्सिलेटर मात्र होइन, ब्रेक पनि लगाउनुपर्छ भनेर सुझाव आइरहेको भन्दै यसमाथि टिप्पणी गरे। उनले यो सरकार लोकल नभएर एक्सप्रेस गाडी भएको बताउँदै काम पूरा नभएसम्म ब्रेक नलाग्ने बताए।
‘सरकार भनेको गाडीजस्तो हो, ब्रेक पनि लाउनुपर्छ भनेर धेरैले चिन्ता व्यक्त गर्नुभएको छ। लोकल रोडहरुमा हिँड्दाखेरि यो ठीक कुरा हो। तर हाम्रो पार्टी लोकल होइन, एक्सप्रेस गाडी हो,’ उनले भने, ‘यो गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। गन्तव्यभन्दा अगाडि ब्रेक लाग्नु पर्दैन। यो अनियन्त्रित पनि छैन।’
यस्तै, उनले आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच घण्टा नभई पाँच वर्षसम्म नियन्त्रणमा लिएर सल्लाह गर्ने बताए। ‘अख्तियारलाई पाँच घण्टा होइन, आवश्यक परेमा पाँच वर्ष अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ। हामी नियमभन्दा बाहिर जाँदैनौँ,’ उनले थपे, ‘नियम–कानून मिच्दैनौँ। हाउभाउ हेर्दा अनियन्त्रित देखिन सक्छ। तर, सबै कुरा निन्त्रयणमा छ।’
यस्तै, उनले रास्वपा विकासवादी र काम गर्ने पार्टी भएको दाबी गरे। यस क्रममा पुराना कुरा लिएर कसैसँग निहुँ खोज्दै नबस्ने बताए। ‘कस्तो कुरामा मात्रै निहुँ खोजिन्छ भने विगतमा दिनमा फट्याइँ भएको छ। सरकारी रकमको दोहन भएको भने निहुँ खोज्छौँ,’ उनले भने।