झापा। जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको छ। किसानले उचित मूल्य नपाएपछि खेती गर्न छोडेपछि जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको हो।
चालू आर्थिक वर्ष २०८२/८३ मा १६ हजार ७५८ हेक्टर क्षेत्रफलमा ८९ हजार ६५५ दशमलव तीन मेट्रिकटन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए। यो परिमाण गतवर्षको तुलनामा सात हजार ४७८ दशमलव सात मेट्रिक टन कम हो।
आर्थिक वर्ष २०८१/८२ मा १९ हजार ९५० हेक्टरमा एक लाख छ हजार १३४ मेट्रिकटन चैते धान उत्पादन भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ८५० हेक्टरमा एक लाख चार हजार १४ मेट्रिकटन धान उत्पादन भएको थियो।
जिल्लामा धानखेतीको क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढिरहेको छ। आव २०८०/८१ मा चैते धानको उत्पादकत्व पाँच दशमलव २४ थियो। आव २०८१/८२ मा पाँच दशमलव ३२ पुगेको थियो भने चाल आवमा पाँच दशमलव ३५ पुगेको कार्यालयले कृषि ज्ञान केन्द्रले जनाएको छ।
लागत नउठ्ने मूल्य
किसानले ६०० देखि ६५० प्रतिमन (४० किलो)मा चैते धान बिक्री गरिरहेका कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिए। 'यो मूल्यले किसानको लागत नै उठ्दैन,' उनले भने, 'अनि किसानले कसरी खेती गर्ने, हामीले उहाँहरूलाई खेती गर्न दबाब पनि दिन सक्दैनौँ।'
सरकारले चालू आर्थिक वर्षका लागि चैते धानको मूल्य प्रतिक्विन्टल दुई हजार ८५६ रुपैयाँ ४९ पैसा तोकिएको थियो। जुन गतवर्षको तुलनामा ५५ रुपैयाँ आठ पैसाले बढी हो। गत साउनमा सरकारले चालू आवका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो।
सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ र मध्यम धानको तीन हजार ६२८ निर्धारण गरेको थियो। चैते धानको न्यूनतम समर्थन मूल्यअनुसार प्रतिमन धानको मूल्य एक हजार १४२ दशमलव चार हुन्छ। किसानले ६०० देखि रु ६५० पाइरहेका छन्।