काठमाडौं। कानुनी क्षेत्रमा एउटा ऐतिहासिक फड्को मार्दै बेलायतस्थित एक आर्टिफिसियल इन्टेलिजेन्स एआई अर्थात कृत्रिम बुद्धिमता (एआइई) सञ्चालित ल फर्मले परम्परागत मानव वकिलहरूको टोलीविरुद्ध अदालतमा मुद्दा जितेको छ।
यो विश्वमै पहिलो पटक भएको तथा कानुनी प्रविधिको क्षेत्रमा ठूलो उपलब्धिको रूपमा हेरिएको छ। बेलायतको सोलिसिटर्स रेगुलेसन अथोरिटीबाट मान्यता प्राप्त एआई सञ्चालित कानुनी प्लेटफर्म गार्फिल्ड एआईले एक स्वतन्त्र मानव संशाधन विज्ञलाई सात हजार पाउन्डको भुक्तानीसम्बन्धी विवादमा न्याय दिलाउन सफल भएको हो।
सो एआई प्लेटफर्मले मुद्दाका लागि आवश्यक कानुनी कागजात, साक्षीका बयान र केस बन्डलहरू तयार गरेको थियो। त्यसपश्चात अदालतमा बहस पैरवी गर्नका लागि यसले एक मानव ब्यारिस्टर वकिललाई नियुक्त गरेको थियो। सो मुद्दाको सुनुवाइ वान्ड्सवर्थ काउन्टी अदालतमा भएको थियो। जहाँ दुवै पक्षका तर्फबाट ब्यारिस्टरहरूले प्रतिनिधित्व गरेका थिए।
विभिन्न साक्षीहरूको बयान र जिकिरसहित तीन घण्टासम्म चलेको उक्त बहसपछि अदालतले गार्फिल्ड एआईका ग्राहकको पक्षमा फैसला सुनाउँदै विपक्षीको दाबी खारेज गरिदिएको भारतीय पत्रिका द पायोनिरले जनाएको छ। गार्फिल्ड एआईका सहसंस्थापक फिलिप योङले यस नतिजालाई कानुनी प्रविधि र न्यायमा आम मानिसको पहुँचका लागि एउटा महत्त्वपूर्ण कोशेढुंगाको रुपमा चित्रण गरेका छन्।
गार्फिल्ड एआईले अहिलेको अवस्थामा १० हजार पाउन्डसम्मका साना दाबीहरूसम्बन्धी विवादहरू हेर्दै आएको छ।
उनका अनुसार एआई प्रविधिको प्रयोगबाट सर्वसाधारणले परम्परागत खर्चको तुलनामा निकै कम लागतमा आफ्ना कानुनी दाबीहरू अगाडि बढाउन सक्छन् भन्ने कुरा यस घटनाले प्रमाणित गरेको उनको भनाइ छ।
सो मुद्दाका लागि एआई प्लेटफर्मले करिब ४०० पाउन्ड मात्र शुल्क लिएको उल्लेख छ। जुन परम्परागत कानुनी शुल्कको तुलनामा निकै कम हो। गार्फिल्ड एआईले अहिलेको अवस्थामा १० हजार पाउन्डसम्मका साना दाबीहरूसम्बन्धी विवादहरू हेर्दै आएको छ। कानुनी सहायतालाई थप सुलभ र किफायती बनाउने यसको उद्देश्य रहेको छ।
त्यस्तै, कानुनी विज्ञहरूका अनुसार सो घटनाले आगामी दिनमा कानुनी क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सको भूमिका अझ बढ्नेतर्फ इंगित गरेको छ। विशेष गरी कागजात तयारी, मुद्दा व्यवस्थापन र सर्वसाधारण तथा साना व्यवसायीहरूलाई सस्तो दरमा कानुनी सहायता उपलब्ध गराउन एआई प्रभावकारी हुने उनीहरूको बुझाइ रहेको भारतीय पत्रिका द पायोनिर पत्रिकामा उल्लेख छ।