काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन) खुकुलो बनाएपछि असारमा १४ मेगावाट बिजुली थप भएको छ । निजी लगानीका ४ आयोजना सम्पन्न भएका छन । ४ ओटा आयोजना सम्पन्न भई परीक्षणको चरणमा रहेको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए ।
३.८ मेगावाटको सुपरमाई क्यासकेड, ९९७ किलोवाटको हाँडिखोला सुनकोसी ए, ४.५ मेगावाटको विजयपुरखोला र ५ मेगावाटको घट्टेखोला आयोजना सम्पन्न भएका हुन ।
यी मध्ये सुपरमाई र विजयपुर खोलाबाट बिजुली उत्पादन भइसकेको छ भने हाँडिखोला र घट्टेखोलाबाट परीक्षण उत्पादन हुन लागेको छ । यी सबै आयोजना निजी लगानीमा निर्माण भएका हुन । यो समेत गरी चालु आर्थिक वर्षमा १५९ मेगावाट बिजुली थप भएको छ ।
हालसम्म विद्युत प्राधिकरणले निर्माण गरेको १४ मेगावाटको कुलेखानी तेस्रो, २२ मेगावाटको तल्लो हेवाखोला, ९९७ मेगावाटको छोटेखोला, ७ मेगावाटको माथिल्लो मार्दी, ९.९ मेगावाटको इवाखोला, ८ मेगावाटको माथिल्लो नौगाड, २५ मेगावाटको कावेली बी १ आयोजना छन ।
यस्तै ९९६ किलोवाटको जिउलीगाड, ४.८ मेगावाटको पदमखोला, ७.५ मेगावाटको माथिल्लो खोरङाखोला, २३.५ मेगावाटको सोलुखोला र ९.६ मेगावाटको सुपरमाइ ए आयोजना सम्पन्न भएको विद्युत प्राधिकरणले जनाएको छ ।
चालु आर्थिक वर्षमा सरकारले साना तथा ठुला आयोजना गरी १ हजार मेगावाट बिजुली थप्ने लक्ष्य लिएको थियो । माथिल्लो तामाकोसी, रसुवागढी, सान्जेनलगायत साना र ठुला आयोजनामा ढिलाइ भएपछि निर्धारित लक्ष्य पुरा नहुने अवस्था आएको हो ।
यी सबै आयोजना आगामी आर्थिक वर्षमा पुरा हुने छन । अगामी वर्ष बिजुलीको जडित क्षमता बढाएर ३ हजार मेगावाट पुर्याउने लक्ष्य सरकारले लिएको छ ।
हालसम्म जडित क्षमता बढेर १ हजार ३८० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । आगामी वर्ष धेरै बिजुली थप हुने अनुमान गरिएको छ ।