काठमाडौं। आज असार १५। अर्थात्, मुठी रोपेर मुरी फलाउने दिन। सरकारले धान दिवस घोषणा गरेको असार १५ लाई दहीचिउरा खाने दिन भनेर पनि चिनिन्छ।
हिन्दु संस्कृतिमा दहीलाई शुभ खानेकुरा मानिन्छ। शुभकार्यमा दहीको प्रयोग गरिन्छ। यस दिन दहीचिउरा खाएर रोपाइँ गरेमा ‘सह’ बसेर धेरै धान फल्ने विश्वास गरिन्छ। रोपाइँको बेला दहीचिउरा खाँदा जाँगर चल्ने, शरीरको आलस्य हराउने र शरीर पनि फुर्तिलो हुने मान्यता छ।
चिउरा पच्न समय लाग्ने भएकाले रोपाइँको समय किसान व्यस्त हुँदा छिटो र सजिलोको लागि दही चिउरा खाने चलनको सुरुआत भएको मानिन्छ ।
दहीचिउराको फाइदा
दहीमा कार्बोहाइड्रेड, चिनी र बोसोको मात्रा कम भएको हुनाले शरीर आलस्य हुँदैन। असारमा गर्मी हुन्छ। गर्मी र थकानले प्यास लागिरहेको बेला दहीले शितलता प्रदान गर्छ।
दही खानु स्वास्थ्यको दृष्टिकोणले राम्रो हुन्छ। चिउरामा काब्रोहाइडेटको प्रमुख स्रोत हो। यसमा पाइने पोषक तत्त्वले शरिरलाई शक्ति दिन्छ। दहीमा शरिरलाई चिसो बनाइराख्ने इन्जाइम पाइने भएकाले शितलता प्रदान गर्छ। दहीले पाचनशक्ति बढाउँछ। पखाला लागेको बेला दहीचिउरा खाए औषधीको काम गर्छ।
दहीमा क्याल्सियम, सोडियम, भिटामिन र पोटासियम पाइन्छ। दहीमा पाइने एक किसिमको ब्याक्टेरिया हाम्रो शरीरका लागि निकै फाइदाजनक हुन्छ । साथै रोगसँग लड्ने क्षमता पनि बढाउँछ। गर्मीयाममा शरीरमा पानीको मात्रा कम हुन्छ। दही चिउरा थप स्वादिष्ट बनाउनको लागि चिनी र केरा मिसाएर खाने गरिन्छ। केरा स्वास्थ्यको लागि लाभदायक मानिन्छ। दही स्वादिष्ट र पौष्टिक तत्वले भरिपूर्ण मानिन्छ।
आज देशभर करिब ७५ लाख लिटर दही खपत हुने अनुमान नेपाल डेरी एसोसिएसनले गरेको छ। एसोसिएसनका अनुसार ७५ लाख लिटर दहीको मूल्य करिब १ अर्ब हाराहारी हुन आउँछ।
२३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ सँगै दहीचिउरा खाने परम्परा पनि मनाइन्छ। एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल असार १५ का कारण दही तथा दुग्धजन्य पदार्थ खपत उल्लेखनीय रूपमा बढ्ने भएकाले दूध उत्पादक किसान, दुग्ध सहकारी र उद्योग प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउँछन्।
एसोसिएसनका अनुसार असार १५ मा दहीचिउरा खाने परम्परा सांस्कृतिक अभ्यास मात्र नभई कृषि उत्पादन, श्रमको सम्मान, स्थानीय उत्पादनको उपयोग र सामाजिक सद्भावको प्रतीक हो। उनका अनुसार दहीमा प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२ लगायतका पोषक तत्व पाइन्छन्।
एसोसिएसनले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको उत्पादन र उपभोगलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिन सबै नागरिकलाई आह्वान गरेको छ।