काठमाडौँ। सवारीसाधनमा प्रयोग हुँदै आएको कालो सिसा हटाउने विषयमा नेपाल अटोमोबाइल व्यवसायी संघ (नाडा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल भएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँग भेट गरी यस विषयमा विस्तृत छलफल गरेको हो।
छलफलका क्रममा प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार कालो सिसा प्रयोग नगरिने र यस्ता सवारीसाधन विभिन्न आपराधिक गतिविधिमा प्रयोग हुने गरेको देखिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कालो सिसा हटाउने अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।
उनले सवारीसाधनको अगाडिको सिसामा कालो सिसा वा कुनै पनि प्रकारका टाँसिने सामग्री प्रयोग गर्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सवारी आयातकर्ताले खरिदकर्तालाई यसबारे जानकारी गराउनुपर्ने बताए। साथै कालो सिसा प्रयोग गर्न चाहनेले सरकारबाट अनिवार्य अनुमति लिनुपर्ने तथा उत्पादक कम्पनीबाट नै कालो सिसा जडान गरिएका सवारीसाधन आयात नगर्न पनि आग्रह गरे।
नाडाका अध्यक्ष उप्रेतीले हाल अधिकांश सवारीसाधनमा कालो टाँसिने पत्र (फिल्म) प्रयोग भइरहेको र त्यसलाई हटाउन प्राविधिक रूपमा विशेष समस्या नरहेकाले प्रारम्भमा त्यस्ता पत्र हटाउने प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिए।
त्यसैगरी नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीसाधनको संख्या धेरै नभएकाले यकिन तथ्यांक संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउन सकिने धारणा राखे।
कालो सिसा हटाउने विषयमा थप समन्वय र छलफलका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई लिखित अनुरोध गरेको जनाएको छ।
छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योति लगायत अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।