काठमाडौं। गत शुक्रबारको कारोबारदेखि दोहोरो अंक, उच्च अंक र सामान्य अंकले घटेको सेयर बजार आज भने बढेको छ। पछिल्ला सात कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से आज उच्च अंकले बढेको हो।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.५९ अंक बढेर २६५२.९३ बिन्दुमा समेटिएको छ। आज २५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३६२ कम्पनीको ९५ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोडको कारोबार भएको छ । आज कारोबार रकम पनि बढेको छ। मंगलबार ३ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। बुधबार सबभन्दा धेरै लक्ष्मी सनराइज बैंकको २८ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, स्नो रिभर्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयर मूल्य ६८ रुपैयाँ १० पैसा बढेर ५२२ रुपैयाँ ३० पैसामा कारोबार भएको छ। सिवाईसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १४ प्रतिशतभन्दा बढी बढेको छ भने भुजुङ हाइड्रोपावरको सेयर मूल्य करिब १४ प्रतिशत बढेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ५.२१ प्रतिशत घटेको छ।
बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। यसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६० प्रतिशत बढेको छ । यस्तै, जलविद्युत, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बिमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज सेन्सेटिभ इन्डेक्स ५.७७ अंक, फ्लोट इन्डेक्स २.८२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०४ अंक बढेका छन्।