काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्।
यसैगरी, सेवा आयोगको सदस्यमा प्रा.डा. रेजिना मास्के नियुक्त भएका छन्। दुवै नियुक्ति त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको विश्वविद्यालय स्रोतले जनाएको छ।
शिक्षा तथा खेलकुद मन्त्रीसमेत रहेका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्याङ्कन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन्।
सिफारिस समितिले गत जेठ महिनामा सेवा आयोग अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो। निर्धारित प्रक्रियाअनुसार प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्यसम्पादनको मूल्याङ्कन गरी योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको थियो।
आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर योगदान दिए। उनी सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जल तथा ऊर्जा आयोग सचिवालयलगायतका निकायमा सचिवका रूपमा कार्यरत रहेका थिए।