काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपाल एयरलाइन्स(एनसएसी)को ६८औं वार्षिकोत्सव अवसरमा शुभकामना सन्देश दिँदै तत्कालै कम्पनीमा रुपान्तरण गर्ने उल्लेख गरे।
आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तत्वयमा नवौं पृष्ठको १६ नं. बुँदामा नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गरी व्यवस्थान सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने विषयलाई प्राथमिकतामा राखिने विषय शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
हुन त यसरी बजेटमा आएको विषय यो मात्र पहिलो भने हैन। यसअघिका धेरै बजेटमा निगमलाई कम्पनीमा रुपान्तरण गर्ने र व्यवस्थापन भित्र्याउने भनिए पनि कार्यान्वयन भने अहिलेसम्म हुन सकेको छैन। सोही कारण ६८ वर्ष पार गरिसक्दासमेत निगम धिमा गतिमा चलिरहेको छ भने अर्बौ ऋणको भार बोकिरहेको छ।
कम्पनी मोडलको प्रस्तावः पहिलो गाँसमै लागेको थियो ढुंगा
२०७८ असार १३ को निगम सञ्चालक समिति बैठकले निगमलाई पुनर्संरचना गरी ‘लिमिटेड कम्पनी‘ मा रुपान्तरण गर्न प्रबन्धपत्र तथा नियमावलीको मस्यौदा तयार गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठायो।
निगमले पर्यटन मन्त्रालय र राष्ट्रिय योजना आयोगलगायतका पटक–पटकका कार्यदलले दिएको सुुझाव र चालूू आर्थिक वर्षको बजेटको ‘स्पिरिट’ लाई पहिलोपटक आत्मसात् गर्ने कोसिस गरेको थियो। दुई दशकदेखि निगमलाई लिमिटेड कम्पनीमा रुपान्तरण गरी सकेसम्म विदेशी साझेदार भित्र्याउनुपर्ने धेरै सुझाव दिइएको थियो।
२०८३ सम्म आइपुग्दा निगमको स्वामित्वमा ११ वटा जहाज छन् भने अन्तर्राष्ट्रिय गन्तव्य पनि ७ मा खुम्चिएको छ। त्यसमध्ये ६ वटा जहाज ग्राउन्डेड छन् भने दुइटा वाइडबडी, दुइटा न्यारोबडी र १ वटा ट्वीनअटर जहाज मात्र सञ्चालनमा छन्।
तर, निगम सुधार गर्छु भनेर आएका कुनै पनि कार्यकारी अध्यक्ष र महाप्रबन्धकले कम्पनी मोडलमा लैजाने आँट गरेका थिएनन्। तत्कालिन महाप्रबन्धक डिमप्रकाश पौडेलले भने घाटामा चलिरहेको निगमलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन कम्पनी मोडलमा लैजाने आँट र साहस गरे।
पौडेलको आँट र साहसलाई निगमको तत्कालीन सञ्चालक समिति, अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयको तत्कालीन नेतृत्वले ‘ग्रिन सिग्नल’ दियो। तर, निगममै क्रियाशील कर्मचारी भने महाप्रबन्धक पौडेलविरुद्ध उत्रिए। अन्ततः कम्पनी मोडलमा लैजाने प्रस्तावको मस्यौदा तयार पारेकै निहुँमा करिब तीन महिना कार्यकक्षमै प्रवेश गर्न नपाई कार्यकारी पद खोसियो।
दुहुनो गाईजस्तै
२०१५ मा स्थापना भएको शाही नेपाल वायुसेवा निगम (हाल नेपाल वायुसेवा निगम–एनएसी) सँग २०४३ मा सानाठूला गरी २१ वटा जहाज थिए। त्यतिबेला निगमले आफ्नै जहाजबाट ३८ आन्तरिक र १० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भथ्र्योे। तर, २०४६ को जनआन्दोलनपछि एनएसी पनि फेरिएको छ। एनएसीको साख र क्षमता क्रमशः साँघुरिँदै छ।
मुलुकमा गणतन्त्र आएको दुई दशक पुगिसक्दासमेत एनएसी भने राजनीतिक दलका लागि दुहुनो गाई भएको छ। तर, निरन्तर थाक्दै गएजस्तो देखिन्छ। कुन बेला दुब्लाएर सकिन्छ (मर्छ) भन्न नसकिने अवस्था सिर्जना भएको छ। २०८३ सम्म आइपुग्दा निगमको स्वामित्वमा ११ वटा जहाज छन् भने अन्तर्राष्ट्रिय गन्तव्य पनि ७ मा खुम्चिएको छ। त्यसमध्ये ६ वटा जहाज ग्राउन्डेड छन् भने दुइटा वाइडबडी, दुइटा न्यारोबडी र १ वटा ट्वीनअटर जहाज मात्र सञ्चालनमा छन्।
विश्वमा निगमभन्दा पछि आएका एयरलाइन्सले आकाशलाई गुल्जार बनाइरहँदा नेपाल एयरलाइन्स भने खिइँदै गएको छ। जहिले पनि निगमको प्रसंग आउँदा थाई एयरवेजको चर्चा हुन्छ। निगमभन्दा पछि आएको थाईका अहिले ८४ जहाज उड्छन्। तर, निगम भने जहाज चलाएर नभई ‘ग्राउन्ड हेन्डलिङ’ को आम्दानीमा रमाइरहेको छ।
सन् २०१४ मा स्थापना भएको निजी क्षेत्रको हिमालय एयरलाइन्सले सन् २०१६ बाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको हिमालयले अहिले चार जहाजमार्फत ६ गन्तव्यमा नियमित उडान गर्दै आएको छ।
पाँच वटा जहाज चलाउन दुई हजार कर्मचारी
नेपाल एयरलाइन्ससँग दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज सञ्चालनमा छन् भने हिमालयसँग चार वटै न्यारोबडी जहाज छन्। हिमालयले चार वटा जहाज मार्फत पाँच वटा मुलुकको सात गन्तव्यमा उडान गर्न ३ सय कर्मचारी राखेको छ भने नेपाल एयरलाइन्सले ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडानका लागि दुई हजारभन्दा बढी कर्मचारी छन्न।
तीमध्ये १ हजार २ सय स्थायी तथा करारमा कार्यरत छन् भने ८ सय जना कर्मचारी आउटसोर्स गरिएको छ। सरकार परिवर्तनसँगै आफ्नो स्वार्थअनुसारका काम गराउन निगम व्यवस्थापक (महाप्रबन्धक÷कार्यकारी अध्यक्ष) फेर्ने गरिन्छ। आफू निकटका व्यक्ति व्यवस्थापक भए आफ्ना कार्यकर्तालाई जागिरसहितका अन्य अवसर सिर्जना गरी आर्थिक लाभ लिने भएकाले पनि कर्मचारीको संख्या अधिक हुन पुगेको पाइन्छ। यद्यपि निगमका कर्मचारी ग्राउन्ड ह्यान्डलिङको काममा पनि संलग्न हुन्छन्।
विश्वमा निगमभन्दा पछि आएका एयरलाइन्सले आकाशलाई गुल्जार बनाइरहँदा नेपाल एयरलाइन्स भने खिइँदै गएको छ। थाईका अहिले ८४ जहाज उड्छन् तर, निगम भने जहाज चलाएर नभई ‘ग्राउन्ड हेन्डलिङ’ को आम्दानीमा रमाइरहेको छ।
अधिक कर्मचारी भएकै कारण नेपाल एयरलाइन्सको खर्च धेरै तलबभत्तामै जाने गरेको छ। त्यति मात्र हैन, नेपाल एयरलाइन्सभित्रका कर्मचारी कामभन्दा बढी राजनीति गर्ने र नेताको आसेपासे भएकै भरमा जागिर पचाउने गरेका कारण समस्यामा पर्दै गएको एक पूर्वअध्यक्षले जानकारी दिए।
५५ अर्ब ऋण
नेपाल एयरलाइन्सको ऋण तिर्नुपर्ने दायित्व ५५ अर्ब पुगिसकेको छ। जहाज खरिद गर्न लिएको ३६ अर्ब रुपैयाँको दायित्व ५५ अर्ब हाराहारी पुगेको हो।
महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनले सरकारको जमानीमा एयरलाइन्सले २०७० र २०७४ मा दुईपटक गरी ३६ अर्ब ऋण लिएको थियो। तर उक्त ऋणको तिर्नुपर्ने दायित्व बढेर अहिले ५५ अर्ब रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। त्यसमध्ये कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिएको थियो।
तालिकाअनुसार सावाँब्याज भुक्तानी नगरेका कारण नेपाल एयरलाइन्सले तिर्नुपर्ने दायित्व सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड पुगेको छ। दुवै कोषको गरेर एयरलाइन्सको दायित्व ५५ अर्ब ४ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ।