काठमाडौं। ठूला करदाता कार्यालयले दुई वर्षदेखि लगातार वार्षिक लक्ष्यअनुसार राजस्व संकलन उठाउन सकेको छैन। कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ र गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक लक्ष्यअनुसार राजस्व संकलन गर्ने नसेकेको हो।
चालू आवमा वार्षिक लक्ष्य ३ खर्ब ४ अर्ब २६ करोड रुपैयाँ रहेकोमा असार तेस्रो सातासम्म २ खर्ब ७ अर्ब ८० करोड राजस्व संकलन गरेको छ। यो वार्षिक लक्ष्यको ६८.३ प्रतिशत राजस्व संकलन हो। कार्यालयले वार्षिक लक्ष्य पूरा गर्ने अझै ९६ अर्ब ४६ करोड संकलन गर्नुपर्ने देखिन्छ। यो लक्ष्य पूरा गर्ने अझै ३१.७ प्रतिशत राजस्व संकलन गर्नुपर्ने देखिन्छ।
चालू आर्थिक वर्ष सकिने अब १५ दिन बाँकी छ। २५ गतेपछि कारोबार बन्द हुने भए पनि यसपछाडि मात्रै करदाताले किस्ता बुझाउने भएकाले आगामी आव लागू नहुँदासम्म असार मसान्तसम्म किस्ता बुझाउन सक्ने व्यवस्था रहेकाले लक्ष्यअनुसार राजस्व संकलन हुन सक्ने कार्यालयले दाबी गरेको छ।
कार्यालयले गत आवमा पनि वार्षिक लक्ष्यअनुसार राजस्व संकलन गर्ने सकेको छैन। गत आवमा वार्षिक लक्ष्य ३ खर्ब ८ अर्ब ५२ करोड रहेकोमा २ खर्ब ३७ अर्ब ५८ करोड राजस्व संकलन गरेको थियो। यो वार्षिक लक्ष्यको ७७ प्रतिशत राजस्व संकलन गरेको हो। कार्यालयले वार्षिक लक्ष्यको ७० अर्ब ९३ करोड कम राजस्व संकलन गरेको थियो। यो लक्ष्यको २३ प्रतिशत कम राजस्व संकलन गरेको थियो।
कार्यालयकी सूचना अधिकारी सिता बर्तौला शर्माका अनुसार करदाताले कर र टीडिएस २५ गतेसम्म बुझाउने भएकाले अहिले बुझाउने बेला भएको छैन। करदाताले २५ गतेमात्रै बुझाउने भएकाले अहिले बुझाउन नआएको उनले बताइन्। बर्सेनि राजस्व संकलनको लक्ष्य बढाइएकाले गर्दा पनि राजस्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ।
उनले भनिन्, ‘वार्षिक लक्ष्य अलि पूरा हुँदैन। हाम्रो त्यही हो ८४÷८५ प्रतिशतसम्म हुन्छ कि भने अनुमान छ। अहिलेसम्मको अनुमान हो। तर हुन पनि सक्छ। नयाँ सरकारले गर्दा खेरी लक्ष्य पूरा हुन पनि सक्छ।’
सरकारले कर तिर्ने करदातालाई विभिन्न योजनाहरु लागू गरेको छ। करसम्बन्धी विभिन्न योजनालगायत विभिन्न छुट्ट सुविधा रहेको भन्दै जनचेतना, कर शिक्षासमेत लागू गरिरहेको उनले बताइन्।
बढी अन्यकर र कम ब्याजकरदेखि राजस्व संकलन
कार्यालयले चालू आवमा वार्षिक लक्ष्यको सबैभन्दा बढी अन्यकरबाट बढी कर संकलन गरेको छ भने, कम ब्याज करबाट राजस्व संकलन गरेको छ। अन्य करको वार्षिक राजस्व संकलनको लक्ष्य ५५ करोड रहेकोमा असार तेस्रो सातासम्ममा ११ अर्ब ६ करोड राजस्व संकलन गरेको छ।
यो लक्ष्यको २०५.६ प्रतिशत राजस्व संकलन हो। वार्षिक लक्ष्यको कम राजस्व संकलन गरेको ब्याज करको लक्ष्य ४१ अर्ब ३५ करोड रहेकोमा २० अर्ब २६ करोड राजस्व संकलन गरेको छ। यो लक्ष्यको ४९ प्रतिशत राजस्व संकलन हो।
यसैगरी, अन्तःशुल्कको वार्षिक लक्ष्य १७ करोड रहेकोमा २५ करोड राजस्व संकलन गरेको छ। यो लक्ष्यको १४७.३ प्रतिशत राजस्व संकलन गरेको हो। मूल्य अभिवृद्धि करको लक्ष्य ६९ अर्ब ६८ करोड रहेकोमा ५८ अर्ब १३ करोड अर्थात ८३.४ प्रतिशत राजस्व संकलन गरेको छ।
यस्तै, शिक्षा सेवा करको लक्ष्य ४ अर्बं ६६ करोड रहेकोमा ३ अर्ब ६५ करोड अर्थात ७८.२ प्रतिशत राजस्व संकलन गरेको कार्यालयको तथ्याङकमा उल्लेख छ। बहालकरको वार्षिक लक्ष्यको ६५.७ प्रतिशत राजस्व संकलन गरेको छ। यसको वार्षिक लक्ष्य ६० करोड रहेकोमा ३९ करोड राजस्व संकलन गरेको हो। आयकरको लक्ष्य १ खर्ब ८७ अर्ब २५ करोड रहेकोमा १ खर्ब १४ अर्ब ७ करोड राजस्व संकलन गरेको हो। यो लक्ष्य ६०.९ प्रतिशत हो।