काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल)को मूल्य एक वर्षअघिकै अवस्थामा फर्किए पनि नेपाल आयल निगमले मूल्य नघटाएर बेचिरहेको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा हुने तेलको मूल्य घटबढको आधारमा स्वचालित तवरमा मूल्य निर्धारण गर्दै उपभोक्तालाई बेचिरहेको हो।
पछिल्लो समय निगमले मूल्य समायोजन गर्ने बेला अन्तर्राष्ट्रिय बजारमा क्रुड आयलको मूल्य प्रतिव्यारेल (२०२६ को जुलाई १ मा) ६९.७१ अमेरिकी डलर थियो। यसको ठिक एक वर्षअघि अर्थात् २०२५ को जुलाई ८ मा ७०. १५ अमेरिकी डलर थियो। जुन एक वर्षअघिकै हाराहारी हो। तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य पुरानै स्तरमा फर्किए पनि नेपालमा पेट्रोलको मूल्य भने अझै प्रतिलिटर १९७ रुपैयाँमै कायम छ। अर्थात्, क्रुड आयलको मूल्य करिब उस्तै हुँदा पनि नेपाली उपभोक्ताले पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ बढी तिर्नुपरेको अवस्था छ।
निगमले एक वर्षअघि अर्थात् २०८२ असार १७ गते सार्वजनिक गरेको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल/मट्टितेल १४९ रुपैयाँमा बिक्री गरेको थियो। तर, त्यसको ठिक एक वर्षपछि २०८३ असार १७ गते निगमले नयाँ मूल्यसूची जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल/मट्टितेल १९५ रुपैयाँमा बिक्री गरिरहेको छ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा उपभोक्तालाई बढाएर तेल बेच्ने तर मूल्य घट्दा नघटाई निगमले झेल गरिरहेको बताए।
इण्डियन आयल कर्पोरेशनसँगको सम्झौतामा पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने र घट्दा घटाउने सर्तसहित नेपालले खरिद गरिरहेको बताउँदै निगम सञ्चालक समितिले नै उपभोक्तालाई मारमा पर्ने खालको निर्णय गरिरहेकोले यसलाई तत्कालै सच्याउनु पर्ने उनको माग छ। निगमले यसअघि लागत मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दापनि अहिलेको भन्दा सस्तोमा उपभोक्ताले पाइरहेको स्मरण गराउँदै उनले अहिले स्वचालित मूल्य लागू गर्दा झनै महँगो हुनु दुर्भाग्य भएको बताए।
‘अहिले उपभोक्तामाथि निगम सञ्चालकले झेल गरिरहेको छ,’ अध्यक्ष तिमल्सिनाले भने,‘अन्तर्राष्ट्रिय मूल्य अनुसार समायोजन गरेर उपभोक्तालाई सहज बनाउनु पर्छ।’
यता नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले क्रुड आयलको मूल्य र प्रशोधित आयल मूल्यबीच तुलना गर्न नमिल्ने बताए। प्रशोधित आयलको माग बजारमा अधिक रहेको र उत्पादन सीमित रहँदा मूल्य बढेको बताउँदै भारतबाट आएको मूल्य अनुसार नै निर्धारण गरिएको उनले बताए। गत वर्षको तुलनामा अहिले डलरको मूल्य समेत बढेकोले विगतसँग जोड्न नमिल्ने उनको भनाइ छ।